राष्ट्रिय सभाकी पाध्यक्ष उर्मिला अर्याल (फाइल तस्बिर)
काठमाडौं– राष्ट्रिय सभाको सोमबारको बैठक उपाध्यक्ष उर्मिला अर्यालले प्रारम्भ र स्थगन गर्ने भएकी छिन्। अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपत्यकाबाहिर रहेकाले उपाध्यक्ष अर्यालले सो जिम्मेवारी सम्हाल्न लागेकी हुन्।
राष्ट्रिय सभा नियमावली २०७५ को नियम ६ को उपनियम ४ मा यस सम्बन्धमा व्यवस्था छ। ‘अध्यक्षले प्रत्येक बैठकको प्रारम्भ तथा स्थगनको घोषणा गर्नेछ,’ सो नियममा भनिएको छ, ‘तर अध्यक्षले उपाध्यक्षलाई लिखित निर्देशन दिएमा वा अध्यक्ष काबू बाहिरको परिस्थितिमा परी बैठकमा उपस्थित हुन नसकेमा उपाध्यक्षले बैठकको प्रारम्भ र स्थगन वा अध्यक्षले प्रारम्भ गरेको बैठक स्थगनको घोषणा गर्नेछ।’
बैठक सञ्चालन तथा स्थगनका लागि अध्यक्ष तिमिल्सिनाले उपाध्यक्ष अर्याललाई आज (सोमबार) र भोलि (असार १८ र १९ गते) को राष्ट्रिय सभा बैठकका लागि लिखित निर्देशन दिइसकेको सचिवालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।