काठमाडौं– एसिया कप छनोटको पहिलो खेलमा नेपालले लज्जापद हार बेहोरेको छ। एक दिवसिय मान्यताप्राप्त नेपाललाई ओमानले ७ विकेटले पराजित गर्यो।
टस हासेर पहिले ब्याटीङ गरेको नेपालले ९ विकेट गुमाएर २ सय २१ रन बनाएको थियाे। ४८ ओभरमा ३ विवेट गुमाएर ओमानले लक्ष्य भेटेको हो।
नेपालका लागि पारस खड्काले मात्र विकेट लिन सके। ओमानका दुई ब्याट्सम्यान रनआउट भएका थिए।
कमजोर टिम मानिएको ओमानले नेपाललाई सहज रुपमा पराजित गरेपछि एसिया कपमा छनोट हुने नेपालको सम्भावना न्यून भएको छ। अब बाँकी चारै वटा खेल जितेपनि नेपाल अन्य देशको नतिजामा भर पर्नुपर्ने हुन्छ।
बलिङ र ब्याटीङ दुवैमा कमजोर प्रदर्शन
मलेसियामा भएको खेलमा बलिङ र ब्याटीङ दुवै पक्ष नेपालको राम्रो हुन सकेन।
पहिले ब्याटीङ गरेको नेपालले ३१ रनमा ओपनर सुवास खकुरेललाई गुमाएको थियो। अर्का ओपनर ज्ञानेन्द्र मल्लले ६० बलमा ४५ रन जोडे। ८० रनमै ४ विकेट गुमाउन पुगेको नेपाललाई सागर पुन र आरिफ सेखले सम्हालेका थिए। सागरले ८४ तथा आरिफले ३६ रनको योगदान दिए।
पछि करण केसीले १० बलमा २६ रन जोड्दा नेपालको स्कोर २ सय २१ पुगेको थियो।
बलिङमा बुधबार नेपाल निकै कमजोर देखियो। ३३ रन बनाउँदा कप्तान पारसले ओमानका ब्याट्सम्यानलाई आउट गरे। उनीपछि अन्य बलरले विकेट लिन सकेनन्।
घाइते भएका सन्दीप लामिछानेले राम्रो बलिङ गरे तर विकेट लिन सकेनन्। उनले १० ओभरमा २७ रन दिएका थिए।
५ ओभर मात्र बलिङ गरेका सोमपालले २७ रन दिए। त्यस्तै करण केसीले ६ ओभरमा २९ रन, पारस खड्काले ७ ओभरमा २७ रन, सागर पुनले ८ ओभरमा ३० रन तथा दीपेन्द्रसिंह ऐरीले ३ ओभरमा १९ रन दिए। बसन्त रेग्मी निकै महंगा सावित भए। उनले ९ ओभरमा ६१ रन दिएका थिए।
ओमानमा ओपनर अकिब इलियासले १६ तथा जतिन्दर सिंहले ३० रन बनाए। भिएस वाटरकोटरले ४१ बनाएर रनआउट हुँदा कवार अली ८४ रन र जिसम मसुट ४५ रनमा नटआउट हुँदै १२ बल बाँकी रहँदै टिमलाई जित दिलाएका हुन्।
नेपालले अब हङकङ, यूएई, माल्दिभ्स र सिंगापुरसँग प्रतिस्पर्धा गर्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।