काठमाडौं– असार शुक्ल पूर्णिमाका दिन आज (सोमबार) गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ।
‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ। ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु मानिन्छ।
अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तिलाई नै गुरु भनिन्छ। यस्ता गुरुलाई हिन्दू शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ। यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ-
गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वर: ।
गुरु: साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नम: ।।
माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ। गुरु पूर्णिमाका अवसरमा यस दिन विभिन्न विद्यालय एवम् सङ्घ संस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गर्छन्।
व्यास जयन्ती
असार पूर्णिमाका दिन नै व्यास जयन्ती पनि मनाइन्छ। वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्ने वेदव्यासको सम्झनामा व्यास जयन्ती मनाइन्छ। असार शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो।
अरुको उपकार गरे धर्म हुन्छ एवम् अरुलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश व्यासले दिएका छन्। पाँचौँ वेदसमेत भनिने महाभारत पनि व्यासले नै रचना गरेको मानिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।