काठमाडौं– नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले निजी बैंकहरुलाई तत्काल आफ्नो मातहतमा ल्याउन सरकारसँग माग गरेका छन्।
आइतबार प्रतिनिधि सभाको दोसो बैठकमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा भाग लिने क्रममा उनले निजी बैंकहरुलाई राज्यले आफ्नो मातहत ल्याउनुपर्ने आवश्यक्ता औंल्याएका हुन्।
सांसद सुवालले निजी बैंक नाफाका लागि मात्रै खोलिएको र त्यसले मिटरब्याज पीडितको पीडालाई सम्बोधन गर्न नसक्ने भएकाले त्यस्ता बैंकहरुलाई राज्यको मातहत ल्याउनैपर्ने बताए।
उनले राज्यले आम नागरिकको जिम्मेवारी लिनुपर्ने भएकाले त्यसो गर्न नसक्ने मन्त्रीहरुले पदमा बसिरहन उपयुक्त नहुने तर्कसमेत गरे।
सांसद सुवालले भने, ‘निजी बैंक भनेको नाफाको लागि खोलिएको हुन्छ। उसले मिटरव्याज पीडितलाई दुःख भयो कि भनेर ऋण दिँदैन। त्यसकारण निजी बैंक सामाजिकीकरण गर्ने, राज्यले लिने अनि जिम्मेवारी पनि लिनुपर्दछ। साथसाथै मान्छेको गर्भदेखि चिहानसम्म सरकारले जिम्मा लिनुपर्छ। सरकार भनेको त्यसैका लागि हो। मैले अगाडि पनि भने–मन्त्रीहरु भनेको झण्डावाल गाडीमा सिंहदरबार भित्र वा बाहिर गर्नका लागि होइन। गर्भदेखि चिहानसम्म मान्छेको जिम्मेवारी लिने भए मन्त्री हुनु, होइन भने घर बस्नू। काम गर्न नसक्ने हो भने। गर्नेलाई छोडिदिनु पर्यो। मन्त्रीहरु सचेत हुनुपर्यो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।