काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताको जीवनमा आमूल परिवर्तन गर्नु नै अहिलेको मुख्य जिम्मेवारी भएको बताएका छन्।
आइतबार भक्तपुरमा आयोजित नारायणविलास जोशीको ३४औं स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले राजनीतिक क्रान्तिको काम सम्पन्न भइसकेकाले अब जनताको जीवनलाई सुखी, समृद्ध र जनतालाई समानता, अवसर, रोजगारीको हिसाबले शीर ठाडो बनाउने कामको जिम्मेवारी पूरा गर्नुपर्ने बताए।
यी सबै कामको जिम्मेवारी कम्युनिस्ट पार्टीबाट नै पूरा हुने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचाण्डले समाजवादको यात्रामा देशलाई कसरी अघि बढाउने भन्नेकुरामा गहन अध्ययन र खोजी गरी अघि बढ्न आवश्यक रहेको बताए।
नेपालले भने, ‘हामीले एउटा राजनीतिक क्रान्तिको काम त सम्पन्न गरेका छौँ। तर अर्को महत्त्वपूर्ण काम बाँकी छ। त्यो महत्त्वपूर्ण काम भनेको जनताको जीवनमा आमूल परिवर्तन गर्ने हो। जनताको जीवनलाई सुखी बनाउने, जनताको जीवनलाई समृद्ध बनाउने, जनतालाई वास्तवमा सबै हिसाबले समानताको हिसाबले, अवसरको हिसाबले र शीर ठाडो पारेर हिँड्नसक्ने हिसाबले समर्थ तुल्याउने यी सबै कामको जिम्मेवारी अहिले पनि कम्युनिस्ट पार्टीले नै गर्नुपर्ने छ। त्यही कम्युनिस्ट पार्टीका नेताको रुपमा अहिले हामीले प्रधानमन्त्री पाएका छौँ, पुष्पकमल दाहाल प्रचण्डले यो देशको अगुवाई गर्दै हुनुहुन्छ। उहाँले समाजवादको यात्रामा देशलाई कसरी अघि बढाउने हो? यसबारेमा अझै गम्भीर चिन्तन–मनन गरेर के गर्दा यो पछाडि परेको अवस्थाबाट माथि उठ्नसक्छ, के गरेर गरिबी, अभाव, बेरोजगारी पीडित जनताहरु, जनताका वेदना र दुःखलाई सम्बोधन गर्न सकिन्छ ? भन्ने सन्दर्भमा उहाँले आफ्नो तर्फबाट प्रयास गर्दै हुनुहुन्छ। हामी लागेका छौँ। सबैका ज्ञान, अनुभव, सबैका बुद्धिलाई लिएर हामी अघि बढ्ने हो भने, इमान्दारिताका साथ अघि बढ्ने हो भने र हाम्रा अग्रज योद्धाहरुले नयाँ नेपाल निर्माणको परिकल्पना गर्नुभएको थियो, उहाँहरुको सपनालाई साकार पार्न सकिन्छ।’
अध्यक्ष नेपालले सबैले इमान्दारिताका साथ अघि बढेको खण्डमा अग्रज योद्धाहरुले परिकल्पना गरेको नेपालको सपना साकार बनाउन सकिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।