काठमाडौं– प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन नेकपालाई पुन: एकताबद्ध गर्नुपर्ने बताएका छन्। नेकपामा रहेका बेला भएका त्रुटिलाई सच्याएर अघि बढ्नुपर्ने उनको भनाइ छ।
आइतबार भक्तपुरमा आयोजित नारायणविलास जोशीको ३४औं स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले समाजवादी मोर्चा बनाएर वामपन्थीहरुलाई एकताबद्ध गर्ने पहल सुरु भइसकेको बताए।
समाजवादी मोर्चा घोषणाको बेलामा पनि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र आफूले फेरि नेकपातिरै फर्किनुपर्ने र फेरि पार्टीलाई एकताबद्ध गर्नुपर्ने कुरा उल्लेख प्रचण्डले बताए। कम्युनिस्ट शक्तिलाई एकताबद्ध गर्दा देशमा समाजवादको एउटा नयाँ यात्रा अघि बढ्नसक्छ भन्ने ठानेर आफूले तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कम्युनिस्टहरुलाई एकताबद्ध गरेको प्रचण्डले उल्लेख गरे।
प्रचण्डले सबै कम्युनिस्टहरुले आफ्ना त्रुटिहरुलाई सच्याएर अघि बढ्नुपर्ने बताए।
उनले भने, ‘कम्युनिस्ट शक्तिलाई एकताबद्ध गर्दा देशमा समाजवादको एउटा नयाँ यात्रा अघि बढ्नसक्छ भन्ने ठानेर मैले तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कम्युनिस्टहरुलाई एकतावद्ध गर्यो भने छिटोभन्दा छिटो हामीले आर्थिक समृद्धितिर पनि जान सकिन्छ, समाजवादतिर पनि देशलाई डोर्याउन सकिन्छ, भनेको थिएँ। र कम्युनिस्ट एकता भयो पनि। देशको सबैभन्दा ठूलो शक्ति झन्डै दुई तिहाई प्राप्त पनि भयो। जनतामा ठूलो उत्साह देखापर्यो। अब कम्युनिस्टहरुले ४०, ५० कति वर्ष लाने हुन्, शासन भनेर भय थियो। तर दुर्भाग्य हामीले त्यसलाई बचाउन सकेनौँ। त्यो एकतालाई बचाएर राष्ट्र, जनता, समाजवादको हितमा जो प्रचुर सम्भावना थियो, त्यो बचाउन सकिएन। म अहिले कसैलाई दोषारोपण गर्न उभिएको छैन, कम्रेड नारायणविलास जोशीप्रति श्रद्धा र सम्मान प्रकट गर्दैगर्दा हामीले एक पटक असफल भए पनि हामीले फेरि त्यसबाट शिक्षा लिएर अघि बढ्ने उद्देश्य राख्नुपर्दछ। एक पटक असफल भयो भन्दैमा विश्वभरकै कम्युनिस्ट आन्दोलनको इतिहास, विश्वभरकै समाजवादी आन्दोलनको इतिहास, एकता, संघर्ष, विभाजन, फेरि रुपान्तरण, फेरि एकता फेरि संघर्ष यस्तैमा गुज्रिँदै अघि बढेको छ। नेपालको कम्युनिस्ट आन्दोलन पनि त्यही नियमअनुसार नै अघि बढेको छ। आज हामीले फेरि एक पटक विचार गर्नुपरेको छ। सबैले चिन्तन गर्नुपर्छ। कि हिजो के कारणले एकीकृत भएको कम्युनिस्ट आन्दोलन बच्न सकेन। त्यहाँ विचारमा कहाँ त्रुटि थियो, राजनीतिमा कहाँ त्रुटि थियो, आचरण र संस्कृतिमा भावनामा कहाँ त्रुटि भयो? के प्रकृतिका कारणले हाम्रो विभाजन भयो भन्ने कुराको गम्भीर समीक्षा गरेर त्यसबाट शिक्षा लिएर अघि जाने हामीले जमर्को गर्नुपर्छ। अहिले कम्रेड माधवकुमार नेपाल, म लगायत कम्रेड विप्लव र उपेन्द्र यादव समेतले फेरि समाजवादी मोर्चा बनाएर वामपन्थीहरुलाई एकताबद्ध गर्ने पहल सुरु गरेका छौँ। त्यतिबेला हामीले, माधवजीले पनि मैले पनि के भनेका छौँ भने फेरि नेकपातिरै फर्किनुपर्छ। फेरि पार्टीलाई एकताबद्ध गर्नुपर्छ भन्नेकुरा भनेका छौँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।