काठमाडौं– ललितपुर जिल्ला अदालतमा कार्यरत नायव सुब्बा प्रेमिका तामाङलाई कानुन व्यवसायी अमिर लामिछानेले हातपात गरेको विरोधमा आइतबार देशभरका अदालतमा कर्मचारीले हड्ताल गरेका छन्।
चारवटा कर्मचारी संगठनहरुको आह्वानमा बिहान १० बजेदेखि अपराह्न १:३० बजेसम्म आह्वान गरिएको हड्तात जारी रहेको कर्मचारी संगठनहरुले दाबी गरेका छन्।
कर्मचारीको आन्दोलनका कारण अदालतमा सेवा लिन पुगेका सेवाग्राही मर्कामा परेका छन्। कर्मचारीको आन्दोलनले अदालतको काम कामकारबाही प्रभावित भएका छन्।
प्रहरीले नासु प्रेमिका तामाङमाथि अभद्र व्यवहार गर्ने लामिछानेलाई पक्राउ गरी कारबाही अघि बढाइसकेको छ। तर कर्मचारी संगठनहरु हड्तालमा उत्रेका छन्।
उनीहरुको आन्दोलनले मुद्दाको पेसी, तारेख लिन पुगेका र मुद्दाको सुनुवाइका लागि अदालत पुगेका सेवाग्राही भने मर्कामा परेका छन्। कर्मचारीले काम बन्द गरेका कारण फाँटबाट हुने कामहरु भएका छैनन्।
कर्मचारीहरुको आन्दोलनका कारण न्याय सम्पादनसम्बन्धी सबै कामहरु प्रभावित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।