काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री डा प्रकाशशरण महतले स्वतन्त्रता, लोकतन्त्र र विधिको शासनबिना आम नागरिकको विकास र अधिकार सुनिश्चित हुन नसक्ने बताएका छन्।
पार्टी कार्यालय सानेपामा आयोजित लोकतन्त्रवादी आदिवासी जनजाति संघको प्रशिक्षण कार्यक्रम मन्त्री डा महतले भने, ‘लोकतान्त्रिक मूल्य र मान्यतालाई संस्थागत गर्ने काम नेपाली कांग्रेसले गरेको हो। यस विषयमा नेपाली कांग्रेस चट्टानझै नउभिएको भए अहिलेको लोकतान्त्रिक गणतान्त्रिक संविधान सम्भव थिएन। यो सन्देश सशक्त ढंगबाट आम जनमानसमा लैजान जरुरी छ।’
प्रशिक्षणले नेपाली कांग्रेसको आदर्श, सिद्धान्त, नीति, यसको इतिहास र संगठनलाई कसरी विस्तार गर्ने, आम आदिवासी जनतालाई नेपाली कांग्रेससँग कसरी र किन जोड्नेबारे प्रशिक्षण कार्यक्रममा योगदान दिने उनले बताए।
‘नेपाली कांग्रेसले समावेशितालाई नेपालको राजनीतिमा प्रवेश गराएको हो,’ उनले भने, ‘नेपाली कांग्रेसको विधानमा महिला, आदिवासी, जनजाति, मधेश, दलित र कर्णालीलाई समावेशिता सिद्धान्तको हिसाबले पार्टी संरचनामा आरक्षण सुनिश्चित गरेको हो। अरु दल पनि यो बाटोमा हिड्ने परिवेश बन्यो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।