काठमाडौं- उपसभामुख इन्दिरा रानाले अभिलेखहरु खोज्नु र बचाउनुपर्ने बताएकी छिन्। ६५ औं संसद् दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुराना सांसदको अनुभवलाई बिर्सिन नहुने बताइन्।
'यो प्रविधिको युगमा छौँ। हामीले जे पनि खोज्न पाउँछौँ। तर पहिलाका हाम्रा माननीयज्यूहरुलाई कति गाह्रो थियो होला विषयवस्तु खोज्न। उहाँहरुको त्यो अनुभवलाई हामीले बिर्सिनुहुँदैन। किनभने त्यो अनुभव अर्गानिक हुन्छ। अहिले हामी इन्टरनेटमा खोज्छौँ। आउँछौँ', उनले भनिन्, 'तर, हामीले हाम्रो अभिलेख खोज्नुपर्यो। अभिलेखलाई बचाउनुपर्यो।'
उनले सिंगापुरको संसद्मा पुराना सभामुखहरुको फोटो राखिएको तर नेपालमा नराखिएको भन्दै नेपालमा संसद्लाई 'बायस' गरिएको बताइन्।
'अस्ति म सिंगापुर गएको थिएँ। डब्ल्युटिओको कन्फ्रेन्समा। त्यहाँको पार्लियामेन्ट भ्रमण गर्ने मौका पाएको थिएँ। त्यहाँ पहिलाका सभामुखज्युले कस्तो टोपी लगाउनुहुन्थ्यो, कस्तो लुगा लगाउनुहुन्थ्यो? अहिलेका सभामुखज्युले कस्तो लगाउनुहुन्छ? त्यो विकास क्रमअनुसार त्यसरी राख्नुभएको छ', उनले भनिन्, 'हामीमा खै त त्यस्तो? भित्र पस्ने बित्तिकै त्यहाँ सम्माननीय सभामुखज्युको यत्रो फोटो राख्नुभएको छ। हाम्रो त छैन। संसद्लाई वायस गरेको जस्तो पनि लाग्छ। यो कुरा मनन गर्नुपर्छ।’
*यसअघि प्रकाशित समाचारमा तथ्यगत त्रुटि पर्न गएकाले सच्याइएको छ। पाठकहरुलाई पर्न गएको असुविधाप्रति माफी चाहन्छौँ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।