काठमाडौं- कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस, एमाले र माओवादी सबै पार्टी एकसाथ संकटमा पर्नुको मूल कारण यी पार्टीहरु जमेको पोखरी जस्तो हुनु रहेको बताएका छन्। यसो हुनु कुनै व्यक्तिको दोष नभएको उनको भनाइ छ।
शनिबार आयोजित एक कार्यक्रममा उनले एउटै नेता ५ पटक, ६ पटक प्रधानमन्त्री भएको अन्य देश नभएको बताए। कुनै लोकतन्त्रमा त्यस्तो नहुने उनले बताए।
‘२० वर्षदेखि, २५ वर्षदेखि, ३० वर्षदेखि नेता नबदल्ने पार्टी कुनै पनि हुँदैन। सबै ठाउँमा हुन्छ। कि त लगातार चुनाव जितेको जित्यै हुन्छ’, उनले भने।
उनले राजनीतिमा अनिवार्य अवकाशको चर्चा गरे। ‘जसरी अहिले हामी एउटा कोठामा इन्ट्री गर्यौं, यत्रो मान्छे छौं। अर्को ढोकाबाट एक्जिट गरेनौं भने त यहाँ जाम भइहाल्छ। एक्जिटको व्यवस्था गरिएको हुन्छ। हामीकहाँ एक्जिटको व्यवस्था गरिएन’, उनले भने।
थापाले आन्दोलनका बेलामा भने त्यस्तो 'एक्जिट'को व्यवस्था हुन नपर्ने बताए। आफूले उमेरको पनि कुरा नगर्ने उनको भनाइ छ। ‘कांग्रेसमै हामीभन्दा पाको, एकसेएक, जोस भएको, जोस मात्रै होइन, सुझबुझ भएको नेताहरु हुनुहुन्छ। अमेरिकाको बाइडेनको कुरा गर्छौं। उमेर पनि होइन। त्यही अमेरिकामा हामी जो बाइडेनको कुरा गर्छौं भने त्यही अमेरिकामा एउटै व्यक्ति दुई पटकभन्दा बढी राष्ट्रपति नहुने परम्परा पनि त छ नि त’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।