काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको अवस्थामा कुनै पनि दलसँग एकताको सम्भावना नरहेको बताएका छन्। काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा नेपालले एकीकृत समाजवादीलाई कसरी बलियो बनाउने भन्ने अहिलेको मुख्य प्रयास रहेको बताए।
आफूहरुले दक्षिणन्थी धार छाडेर क्रान्तिकारी धार रोजेको बताउँदै उनले आफूहरु समाजवादको दिशामा अगाडि बढ्ने वातावरणमा जुटिरहेको उल्लेख गरे।
नेपालले भने,‘भर्खरै हामीले समाजवादी मोर्चा बनाइएका छौं। मोर्चामा कम्युनिष्ट मात्र नभई गैरकम्युनिष्ट पार्टीहरु समेत छन्। गैरकम्युनिष्ट जनता समाजवादी पनि समावेश छ।’
उनले लक्ष्य राखेर अगाडि बढ्दा सफल हुने धारणा राखे। समाजवादप्रति आकर्षण बढिरहेको बताउँदै उनले भने,‘केन्द्र र प्रदेश सरकारमा मन्त्री बनाएका छौं। उनीहरुले काम राम्रो गर्नुपर्छ।’
कोशी प्रदेशमा एमालेको सरकार ढलेकाले चाँडै बन्ने नयाँ सरकारमा एकीकृत समाजवादी सहभागी हुने बताउँदै उनले कसैलाई निषेध र एक्लो बनाउन नचाहने धारणा राखे। नेपालले भने,‘हामी एकताबद्ध भएर अगाडि बढ्छौं। संविधानमा विमति राख्नेसँग त हातेमालो गरेर अगाडि बढिरहेका छौं भने संविधान मान्नेसँग सँगै हिँड्न गाह्रो छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।