काठमाडौं- प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी शक्तिबीच पार्टी एकताका लागि ठोस पहल भइरहेको दाबी गरेका छन्।
पोखरामा शनिबार बिहान माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका पदाधिकारीसँग अन्तर्क्रिया गर्दै उनले माओवादी कमजोर हुँदा परिर्वतनका मुद्दासमेत कमजोर हुने भएकाले एकताको पहल गरिएको बताए। उनले भने, ‘माओवादी कमजोर हुँदा सिङ्गो परिवर्तन कमजोर हुन्छ। हामी शक्तिशाली हुँदा मात्र देश सही दिशामा अगाडि बढ्छ। त्यसैले परिवर्तनका मुद्दा रक्षा गर्ने जिम्मेवारी पनि हाम्रै हो। यसका लागि हामी सबैले देशको पक्षमा सोच्न र काम गर्न जरुरी छ।’
प्रधानमन्त्री प्रचण्डले जनताले माओवादी नेतृत्वको सरकारमाथि धेरै आशा र भरोसा राखेकाकाले सबै मिलेर देश निर्माणका पक्षमा लाग्नुपर्नेमा जोड दिए। ‘हामीभित्र मात्र थपघट गरेर पार्टी पुनःनिर्माण हुँदैन। यस पटक सरकारको नेतृत्व लिँदा परिवर्तन र पार्टी राम्रो बनाउने वातावरणका लागि सोचेको थिएँ,’ उनले भने, ‘यसका लागि नयाँ ढंगले सोच्दैछौँ। हामीसँग इतिहासको तागत छ, त्याग र बलिदानको तागत छ। देश निर्माणका लागि फेरि नयाँ फड्को जरुरी छ। सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा फड्को मार्न खोजिएको छ। यसमा हामी दृढतापूर्वक अघि बढ्नुपर्छ। सरकार यसमा दृढ छ।’
देशमा उपलब्ध प्राकृतिक साधन स्रोत उपयोग गरेर देशको समुन्नतिका पक्षमा फड्को मार्ने आफ्नो योजना रहेको प्रधानमन्त्री सुनाउँदै उनले भने, ‘यसका लागि के–कसरी काम गर्न सकिन्छ, यतातर्फ पनि सबैले सोचौँ। पार्टीका सबै नेता–कार्यकर्ताले देशको समृद्धिको पक्षमा काम गर्ने संकल्प गरौँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।