काठमाडौं- नेकपा एमालेले कोशी प्रदेशको सरकार गठन प्रक्रियामा सभामुख सहभागी हुन नपाउने दाबी गरेको छ। एमाले–राप्रपा एकातिर र कांग्रेस–माओवादी केन्द्र–एस–जसपा अर्कोतर्फ भएमा यो प्रदेशमा समान ४६ सांसद हुन्छन्। बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ। सभामुख रहेका माओवादी सांसदले मत हाले बहुमत पुग्ने अवस्था भने बन्छ।
तर, माओवादी केन्द्रबाट सभामुख भएका बाबुराम गौतमले निर्णायक मत हाल्न नहुने एमालेको माग छ।
शुक्रबार मात्र ४६ सांसदको मात्र विश्वास पाएर अल्पमतमा परेको हिक्मत कार्की नेतृत्वको एमालेले प्रदेश प्रमुख पर्शुराम खापुङलाई भेटेर सभामुख सहित ४७ सांसदको हस्ताक्षर आए त्यसलाई नस्वीकार्न आग्रह गरेको एमाले सचेतक रेवतीरमण भण्डारीले बताए। दलको अबद्धता त्यागिसकेका सभामुखले सरकार गठनमा सहभागिता जनाउन नमिल्ने आफूहरुको माग रहेको भण्डारीले बताएका छन्।
‘सभामुख सहित ४७ सांसदको हस्ताक्षर लिएर सरकार दाबी हुनसक्ने भनेर हामीले प्रदेश प्रमुखलाई सचेत गराएका छौं। सभमुखले दलीय आबद्धता त्यागिसक्नुभएको छ। अब उहाँ सरकार गठन, विघटन प्रक्रियामा सहभागी हुन मिल्दैन,’ भण्डारीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।