काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्रीले संसद्लाई छलेका छन्। बिहीबार विश्वासको मतका लागि प्रस्ताव राखेर अन्य दलहरूको सवालको जवाफ नदिइ ३० मिनेटका लागि स्थगित भएको बैठक करिब ६ घण्टापछि शुक्रबारका लागि बस्ने सूचना जारी गर्दै बैठक स्थगित भएको हो।
प्रदेश सभा सचिवालयले एक विज्ञप्ति जारी गर्दै शुक्रबार ११ बजे बस्ने गरी बैठक स्थगित भएको हो।
‘२०८० साल असार १५ गते दिनको ११:०० बजे बैठक बस्ने व्यहोरा कोशी प्रदेशको प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन समेत) को नियम ६ को उपनियम (३) बमोजिम माननीय सदस्यज्यूहरुलाई जानकारीका लागि माननीय सभामुखज्यूको आदेशानुसार यो सूचना प्रकाशित गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ।
यसअघि मुख्यमन्त्री कार्कीको प्रस्ताव सबै दलले आफ्नो धारणा राखेका थिए। जसमा एमालेका कार्कीलाई राप्रपाबाहेक अन्यदलले मत नदिने बताएसँगै उनी स्पष्ट अल्पतमा परेका थिए। त्यसपछि संसद्मा उठेका प्रश्नको जवाफ र निर्णयार्थ पेस गर्ने बेलामा कार्कीले ३० मिनेट मागेका थिए।
त्यसपछि प्रदेश सभाबाट निस्केका कार्की संसद् नफर्केको एक सांसदले बताए। त्यो बीचमा उनले एमाले संसदीय दलको पत्रमा प्रदेश सभाको बैठक भोलि बस्नेगरी सार्न सभामुखलाई पत्र काटेको संसद् सचिवालयले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।