काठमाडौं– नेकपा एमालेका सचिव एवं प्रतिनिधि सभाका सांसद योगेश भट्टराईले एमालेमाथि हमला गरेर कोशी प्रदेशको समस्या हल नहुने बताएका छन्।
बिहीबार इलाममा आफूलाई कालो झण्डा देखाएकोप्रति टिप्पणी गर्दै उनले यस्तो बताएका हुन्। सामाजिक सञ्जालमा लेख्दै एमाले सचिव भट्टराईले एमाले वार्ता र संवादका लागि सधैं तयार रहेकाले एमाले र एमालेको नेतृत्वलाई हमला गरेर कोशी प्रदेशको समस्या हल नहुने बताए।
‘उत्तेजनात्मक, निषेधकारी र हिंसात्मक तरिका हामीलाई मान्य छैन। एमाले र एमालेको नेतृत्वलाई हमला गरेर कोशी प्रदेशको समस्या हल हुँदैन’, सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘एमाले वार्ता र संवादका लागि हरबखत तयार छ।’
मदन भण्डारी फाउण्डेसन इलामले ७२ औं मदन जयन्तीका अवसरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा जाँदै गर्दा इलाम बजारमा उनलाई केही व्यक्तिले कालो झण्डा देखाएका थिए।
‘एमाले फरक विचार र मतलाई सम्मान गर्ने पार्टी हो। आज मलाई कालो झन्डा देखाउनेहरूको अधिकारका लागि म स्वयं र मजस्ता लाखौंले लडेर ल्याएको विरोध गर्ने अधिकारको अभ्यास उहाँहरूले गर्नुभएकोमा लोकतन्त्रको संघर्षमा हामीले बिताएको समयले सार्थकता पाएको अनुभूति भएको छ’, उनले भनेका छन्, ‘हाम्रो भनाइ यही छ कि विरोध शान्तिपूर्ण मान्यताभित्र हुनुपर्छ। उत्तेजनात्मक, निषेधकारी र हिंसात्मक तरिका हामीलाई मान्य छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।