काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाली ठकुरी ले आफूले काम गर्नका लागि पाएको अधिकार क्षेत्रमा मन्त्री सुदन किराँतीले काम गर्न नदिएको आरोप लगाएकी छिन्।
मन्त्रालयद्वारा आयोजना गरिने विभिन्न खाले काम कारबाहीदेखि नितिगत कुरामा समेत मन्त्री किराँतीले आफूलाई बाइपास गरी आफूखुसी काम गर्ने गरेको राज्यमन्त्री श्रीपालीले बताइन्।
उनले भनिन्, ‘म पनि राज्यमन्त्री हो, मन्त्रालयले गरेका राम्रा कामको जस तथा नराम्रा कामको अपजस मैले पनि लिनुपर्छ तर मन्त्रीज्युले मलाई बाइपास गरेर एकलौटी काम गर्नुहुन्छ, यसरी कसरी काम हुन्छ?’
यसैगरी अहिले निकै चर्चामा रहेको तथा मन्त्री किराँतीले काभ्रेको बनेपा नगरपालिका–१४ राउत गाउँको माथिल्लो भागमा रहेको इटापु डाँडामा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको हेलीपोर्ट निर्माण गर्न निजी क्षेत्रको हवाई कम्पनी सिम्रिक एअरलाई हेलीपोर्ट बनाउन दिएको सैद्धान्तिक सहमतिका विषयमा पनि मन्त्री किराँतीले आफूसँग तथा सम्बन्धित निकायसँग छलफल नै नगरेका कारण समस्या आएको बताइन्।
उनले भनिन्, ‘बारीको डिलमा हेलिकप्टर बस्नेलाई हेलिपेर्ट भनिन्छ की हेलिप्याड भनिन्छ? त्यो बुझ्न जरुरी छ। सम्बन्धित निकायसँग सल्लाह नगरेर सहमति दिँदा समस्या भएकै हो। म पनि राज्यमन्त्री हो मलाई त्यो विषयमा कुनै जानकारी नै दिइएको थिएन। जवाफ दिने ठाउँमा म पनि छु त। मलाई किन सोधिएन?’
राज्यमन्त्री श्रीपालीले राजपत्रांकित प्रथम श्रेणी अर्थात सहसचिवसम्म सरुवा गर्ने अधिकार माग्दासमेत मन्त्री किराँतीले उक्त अधिकार नदिएपछि उनीहरुबीच चर्काचर्की सुरु भएको मन्त्रालय स्रोतले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।