काठमाडौं- कोशी प्रदेशको नाम राख्ने निर्णयबाट अब फिर्ता हुनुपर्ने माग माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले गरेका छन्। मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत मागपछि प्रदेश सभामा बोल्दै उनले प्रदेशलाई दुर्घटनातर्फ लैजान नहुने भन्दै जनता नै असन्तुष्टि भएकाले सच्चाउन आग्रह गरे।
‘अब हामीले प्रदेशको नामकरणमा पुनर्विचार विचार गर्नुपर्छ। प्रदेशलाई राजनीतिक निकास दिउँ,’ उनले भने, ‘प्रदेशमा जनता असन्तुष्ट हुँदै आन्दोलनमा छन्, वार्ता समिति गठन भएको कुरामा हाम्रो सहमति छ तर अब पुनर्विचार गरिनुपर्छ।’
उनले पहिचान सहितको नाम राख्ने कुरामा आफूहरुले तत्कालीन समयमै फरक मत राखेको भन्दै अब सच्चाउने समय भएको बताए। उनले प्रदेशलाई दुर्घटनातर्फ लैजान नहुने भन्दै यसमा सबै एकमत हुनुपर्ने माग गरे।
तत्कालीन समयमा कोशी प्रदेश नाम राख्ने कुरामा एमाले, माओवादी र नेपाली कांग्रेससहितका दलहरु एक मत भएका थिए। कोशी नाम राख्ने कुरालाई लिएर विरोध भएपछि माओवादीले पहिचानको पक्षमा बोल्दै आएको छ।
उनले माओवादी सरकारमा हुँदासम्म वार्ता समिति नै गठन नभएको र बाहिरिए लगत्तै गठन भएकोमा खुसी नै लागेको टिप्पणी गरे। उनले सत्ता गठबन्धन छोड्नुपर्ने कारण केन्द्रको असन्तुष्टि भएको दाबी उनले प्रदेश सभामा गरे। उनले प्रधानमन्त्रीको भारत भ्रमण, संसदमा एमालेले देखाएको व्यवहार र नागरिक ऐनमा भएको विरोधका कारण आफूहरु सरकारमा बस्न नसकेको उनले टिप्पणी गरे। यही कारण एमालेसँगको सहकार्यको ढोका बन्द भएको दाबी गर्दै उनले अहिले विश्वासको मत दिन नसक्ने स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।