काठमाडौं– कोशी प्रदेशमा एक मात्र सांसद रहेर सरकारको लागि निर्णायक बनेको जसपा तटस्थ बस्ने भएको छ। सो प्रदेशमा जसपाबाट निर्मला लिम्बू सांसद छिन्।
कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मत कार्कीले बिहीबार विश्वासको मत लिँदै छन्। कार्कीलाई विश्वासको मत नदिएर तटस्थ बस्ने निर्णय भएको सांसद लिम्बूले नेपाल लाईभलाई बताइन्।
बालुवाटारमा बसेको संघीय सरकारमा आबद्ध गठबन्धन दलले बिहीबार बिहान जसपालाई तटस्थ बस्न मनाएका थिए।
यसअघि मधेस प्रदेशमा जसपाको मुख्य मन्त्रीलाई एमालेले विश्वासको मत दिएको थियो। कोशीमा आफूहरुलाई सघाउने आसका साथ मधेसमा विश्वासको मत दिएको एमालेलाई जसपाले गुन नतिर्ने भएको छ।
त्यस्तै, बिहीबारै बसेको माओवादी केन्द्रको बैठकले कार्कीको विपक्षमा मत हाल्ने र आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको थियो। प्रमुख प्रतपक्षी कांग्रेस पनि आफ्नै नेतृतवमा सरकार बनाउने गृहकार्यमा रहेको छ।
संसदीय आंकडा अप्ठ्यारो रहेकोले कोशीमा आसन्न सत्ता राजनीति स्पष्ट छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।