काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)ले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेको कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले बिहीबार विश्वासको मत लिँदैछन्। उपेन्द्र यादव नेतृत्वको जसपाले गत जेठ १७ गते सरकारमा सहभागी स्वास्थ्य मन्त्री निर्मला लिम्बुलाई फिर्ता बोलाउँदै कार्की सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।
केन्द्रमा नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतसँग गठबन्धन गरेको जसपाले प्रदेशमा पनि त्यही समीकरणमा जान समर्थन फिर्ता लिएको थियो। कोशी नामकरणको समेत विपक्षमा रहेको बहाना बनाउँदै उक्त पार्टीले सरकार छाडेको थियो।
पुस २४ मा एमाले नेता हिक्मत कार्की नेतृत्वमा गठित प्रदेश सरकारमा जसपा सहभागी भएको थियो। कोशीमा एमाले ४०, माओवादी १३, राप्रपा ६ र जसपा १ सिट मिलेर सरकार बनाएका थिए। नेपाली कांग्रेस भने प्रतिपक्षमा छ।
एमाले सरकारबाट माओवादी (१३) र जसपा (१) बाहिरिएपछि एमाले (४०) र राप्रपा (६) गरी ४६ सांसद छन्। कार्की सरकारका पक्षमा ४६ सांसद हुनेछन्। विश्वासको मतको विपक्षमा पनि कांग्रेस २९, एकीकृत समाजवादी ४, माओवादीका १३ र जसपाका १ जना सभामुख छन्। सभामुखबाहेक विपक्षमा पनि ४६ नै मत खस्ने देखिन्छ।
एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार विश्वासको मत पाउने सम्भावना कायम छ। एमालेले मधेस प्रदेशमा जसपालाई समर्थन दिएर कोशीमा जसपालाई पक्षमै राख्ने प्रयत्न गरेको थियो।
जसपाले एमाले नेतृत्वको सरकारलाई समर्थन नगर्दा भने सरकार ढल्ने निश्चित छ। सरकारले विश्वासको मत नपाए संविधानम रहेको ठूलो दलको सरकार बन्ने प्रावधानअनुसार अघि बढ्ने तयारी एमालेले गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।