काठमाडौं– कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले दिएको अभिव्यक्तिलाई सर्वोच्च अदालतपछि उच्च अदालत विराटनगरले पनि गम्भीर रुपमा लिँदै बयानका लागि बोलाएको छ।
उच्च अदालतले रजिष्ट्रारको प्रतिवेदनपछि अदालतको अवहेलनामा किन कारबाही नगर्ने? भन्दै बयानमा बोलाएको हो।
उच्च अदालत विराटनरका कायम मुकायम मुख्यन्यायाधीश सत्यमोहन जोशी थारु र न्यायाधीश किरणकुमारी गुप्ताको संयुक्त इजलासले मन्त्री राजभण्डारीलाई बयानका लागि असार २० गते बिहान ११ बजे अदालतमा उपस्थित हुन भनेको छ।
राजभण्डारीलाई मन्त्रीजस्तो गम्भीर जिम्मेबारीमा बसेको व्यक्तिले दिएको अभिव्यक्ति अदालतको अवहेलना ठहर हुने भएको भन्दै बयानका लागि उपस्थित हुन भनेको हो। बुधवार नै सर्वोच्च अदालतले पनि उनलाई बयानका लागि बोलाएको छ।
सर्वोच्चले बयानमा उपस्थित नभए अवहेलनामा कारबाही गर्न पनि भनेको छ। राजभण्डारीका नाममा कारण देखाउ आदेश जारी गर्दै आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न पनि आदेश भएको छ।
आइतबार विराटनगरको शिक्षादीप कलेजमा आयोजित कार्यक्रममा मन्त्री राजभण्डारीले उच्च अदालतका न्यायाधीशमाथि घुस खाएको आरोप लगाएका थिए। उनीविरुद्ध मंगलबार उच्च अदालतमा अदालतको अवहेलनासम्बन्धी दुई वटा मुद्दा दर्ता भएको थियो। अदालतको अवहेलनामा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवानाको माग दाबी अधिवक्ता उद्धवचन्द्र घिमिरेले दायर गरेको मुद्दामा छ।
अदालतको प्रतिवेदनका आधारमा उच्च अदालतका रजिष्ट्रार जितेन्द्रबाबु थपलियाले अवहेलना मुद्दाका लागि प्रतिवेदन तयार गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।