काठमाडौं– सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद एवं पूर्व अर्थराज्यमन्त्री उदयशमशेर राणाले तत्कालीन माओवादी लडाकू शिविरमा भएको भ्रष्टाचारको पनि तत्काल छानबिन गर्न सरकारसँग माग गरेका छन्।
सांसद राणाले माओवादी लडाकू शिविरमा पनि भ्रष्टाचारसम्बन्धी समस्याहरु रहेकाले त्यसको पनि छानबिन प्रक्रियालाई तत्काल अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग माग गरेका हुन्।
प्रधानमन्त्री दाहाल र गृहमन्त्री श्रेष्ठका आफ्नै मान्छेहरु पनि भ्रष्टाचारमा संलग्न भएको कुरा बाहिर आएको जिकिर गर्दै उनले त्यसलाई पनि छायाँमा पर्न सरकारले दिन नहुने बताए। सांसद राणाले ललिता निवास प्रकरणको छानबिनको कामलाई सरकारले पुनः अघि बढाएकोमा स्वागत गर्दै त्यस्ता खालका अरु भ्रष्टाचारका मुद्दाहरुलाई पनि सरकारले अघि बढाउनुपर्ने बताए।
उनले भने, ‘त्यो लडाकूको विषयमा पनि समस्याहरु अहिले देखिएको छ। त्यो फाइल पनि खोल्न म प्रधानमन्त्री र गृहमन्त्रीलाई आग्रह गर्न चाहन्छु। ललिता निवासको फाइल खोलिएको छ, त्यो ठीकै छ। कारबाही हुनुपर्छ। मैले भनिहाले–भ्रष्टाचारीलाई कारबाही हुनुपर्छ।’
सांसद राणाले आफ्नो पार्टीले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति लिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।