काठमाडौं- माथिल्लो सदन राष्ट्रिय सभा अन्तर्गत रहेको राष्ट्रिय सरोकार तथा समन्वय समितिका सांसदहरुले आर्थिक वर्ष २०८०/०८१ को विनियोजित बजेट मन्त्री र पहुँचवालालाई मात्रै पारेको भन्दै गुनासो गरेका छन्।
समितिले राष्ट्रिय योजना आयोग र राष्ट्रिय प्राकृतिक तथा वित्त आयोगसँग गरेको छलफलमा अधिकांश सांसदहरुले विनियोजित बजेटमाथि आपत्ति जनाएका हुन्।
सांसद इन्दु कडरियाले बजेट समान रुपमा विनियोजन नभएको भन्दै आपत्ति जनाइन्। उनले भनिन्, ‘बजेट समान रुपमा विनियोजन भएको छैन। मन्त्रीहरुले आफू अनुकल बजेट ल्याएका छन्। बजेट ठूला नेताहरु र मन्त्रीहरुको क्षेत्रमा मात्रै खन्याएको देखिएको छ। यस्तो कसरी हुन्छ? राष्ट्रिय योजना आयोगले प्रष्ट पार्नुपर्छ।’
उनले संघ सरकारबाट विनियोजन गरिएका सानासाना टुक्रे योजनामाथि समेत योजना आयोगले हेर्नुपर्ने बताइन्। त्यसैगरी गिटी, बालुवामाथि तीन तहका सरकारमध्ये कसले कर लिने भन्नेबारेमा वित्त आयोगले पनि सोच्न पर्ने उनले बताइन्।
त्यसैगरी सांसद रामचन्द्र राईले अहिलेको बजेट पूर्व प्रधानमन्त्री, प्रधानमन्त्री र मन्त्रीहरुको जिल्लामा थुप्रिएको आरोप लगाए। उनले गोरखा, नुवाकोट, डडेल्धुरा लगायतका मन्त्रीहरुको जिल्ला केन्द्रित भएको भन्दै आपत्ति जनाए। उनले सरकारमा रहेका मन्त्रीहरुले अन्य जिल्लाका विभेद गरेको बताए।
सांसद दीपा गुरुङले योजनाको माग लिएर मन्त्रालय जाँदा मन्त्रीले नै तपाईं कुन पार्टीको भन्दै प्रतिप्रश्न गरेको र कुनै पनि योजना नदिएको आरोप लगाइन्। सांसद सोनाम गेल्जेङ सेर्पाले स्थानीय तहलाई बलियो बनाउनुपर्नेमा जोड दिए। उनले केन्द्रीकृत मानसिकताका कारण संघीयता असफल हुन सक्ने चिन्ता व्यक्त गरे।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले माग महिनादेखि नै बजेटको प्रक्रिया सुरुवाती हुने बताए। उनले तत्कालीन अर्थमन्त्री विष्णु पौडेल रहेको र पछि गठबन्धन परिवर्तन हुँदा योजना आयोगले बजेट सिलिङ परिवर्तन गर्नु परेको बताए।
उनले भने, ‘माघ १५ गतेभित्र बजेट सिलिङ निर्धारण गरिसक्नुपर्छ। त्यति बेला अर्थमन्त्री विष्णु पौडेल हुनुहुन्थ्यो। त्यसबेला १६ अर्बको बजेट सिलिङ बनाउने भन्ने थियो। पछि सरकारको गठबन्धन परिवर्तन भयो। नयाँ अर्थमन्त्री आउनु भयो। राष्ट्रिय योजना आयोगले करिब १ खर्ब बजेट बढाउन सक्ने सुझाव दियौं। सोही अनुरुप बजेटको सिलिङ आएको हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।