काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याएको आय तथा व्ययको अनुमान (बजेट) निर्णयार्थ प्रस्तुत हुने भएको छ। सरकारले गत जेठ १५ संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को संयुक्त बैठकमा बजेट प्रस्तुत गरेको थियो। प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ।
बैठकको सुरुमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विनियोजन विधेयक २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवम् उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरुमाथि छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनेछन्।
त्यसपछि सभामुख देवराज घिमिरेले विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयहरुको शीर्षकमा प्रस्तुत भएका खर्च कटौतीका प्रस्तावहरुलाई निर्णयार्थ प्रस्तुत गर्नेछन्। विभिन्न मन्त्रालयहरुको खर्च कटौतीका लागि २७ जना सांसदले प्रस्ताव पेस गरेका छन्।
सभामुख घिमिरेले विनियोजन विधेयक २०८० का दफाहरुलाई निर्णयार्थ प्रस्तुत गर्नेछन्।
अर्थमन्त्री प्रकाशशरण महतले विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। यस्तै आर्थिक विधेयक २०८० माथि ‘विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नेछन्। अर्थमन्त्रीले प्रस्ताव पेस गरेपछि आर्थिक विधेयकमाथि दफावार छलफलका लागि दिन तोकिनेछ। बुधबारको बैठकमा अर्थमन्त्री महतले राष्ट्र ऋण उठाउने विधेयक २०८० माथि विचार गरियोस् भनी प्रस्ताव पेस गर्नेछन्।
बजेटको पक्षमा मतदान गर्न ह्विप
सत्तारुढ प्रमुख दलहरु नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले बजेटको पक्षमा मतदान गर्न भन्दै आफ्ना सांसदहरुलाई ह्विप जारी गरेका छन्।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बुधबारको बैठकमा विनियोजन विधेयक २०८० (बजेट) निर्णयार्थ प्रस्तुत हुने हुँदा बैठकमा अनिवार्य उपस्थित भइ पक्षमा मतदान गर्न ह्विप जारी गरिएको बताएका छन्।
माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले पनि बजेटका पक्षमा मतदान गर्न सांसदहरुलाई ह्विप जारी गरेका छन्।
सत्तारुढ गठबन्धनका दलहरु जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले बजेट संशोधन गर्नुपर्ने अडान राख्दै आए पनि बजेट संशोधन नगरी पारित गर्न लागिएको हो।
सत्तारुढ गठबन्धनमा रहेका जसपा, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र सरकारलाई समर्थन गरेको जनमत पार्टीले बजेटका सन्दर्भमा बुधबार बिहान मात्रै निर्णय गरिने जनाएका छन्। संसदीय दलको बैठक बसेर बजेटका सन्दर्भमा निर्णय लिइने नेताहरुले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।