जाकर्ता (इन्डोनेसिया)- इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुदअन्तर्गत प्याराग्लाइडिङको टिम क्रस कन्ट्री इभेन्टको चौथो चरण समाप्तिसम्म नेपाली पुरुष टिम चौथोबाट दोश्रो स्थानमा उक्लिएको छ। नेपालको कुल २ हजार ७ सय ९८ अंक छ। पहिलो स्थानमा रहेको जापानको ३ हजार २ सय ९८ अंक पुगेको छ। २ हजार १ सय ९२ अंकसहित दक्षिण कोरिया तेश्रो स्थानमा छ।
अन्य खेलहरुमा खराब प्रदर्शन गरेकाे नेपालले एघारौं दिन प्याराग्लाइडिङबाट पदक जित्ने आसा कायम राखेकाे छ।
सोही स्पर्धाको महिलामा नेपाल छैटौं स्थानमा छ। नेपालको २ सय १६ अंक छ। यस स्पर्धामा दक्षिण कोरिया पहिलो, जापान दोश्रो र आयोजक इन्डोनेसिया तेश्रो स्थानमा छन्।
कुराँस
कुराँसमा नेपालको चुनौति समाप्त भएको छ। पुरुष ६६ केजीमुनिको अन्तिम ३२ को खेलमा नेपालका उपेन्द्र थापाले पाकिस्तानका खेलाडीलाई १–० ले पराजित गरे। प्रिक्वाटरफाइनलमा भने उपेन्द्र उज्वेकिस्तानका खेलाडीसँग १०–० ले हारे। महिलाको ५२ केजीमुनिको पहिलो चरणमा नेपालकी भगवती माझी चाइनिज ताइपेहकी खेलाडीसँग १०–० ले नै पराजित भइन्।
सेपाकताक्रो
सेपाकताक्रोको पुरुष क्वाड स्पर्धामा नेपाल भियतनामसँग २–० ले पराजित भयो। पुरुष रेगु स्पर्धामा भने नेपालको चुनौति समाप्त भएको छ।
स्केटबोर्ड
स्केटबोर्डको पुरुष स्ट्रिट स्पर्धामा नेपालका नेरिश थापा १५औं भएका छन्। १८ खेलाडी सहभागी पहिलो चरणमा नेरिश १५औं भएका हुन्।
स्क्वास
स्क्वासकाे पुरुष टिम इभेन्टमा नेपालले जापानसँग ३–० ले पराजय भाेगेकाे छ। यसअघि नेपाल दक्षिण कोरिया र पाकिस्तानसँग पनि समान ३–० ले पछि परेको थियो।
एथलेटिक्स
नेपालकी विश्वरुपा बुढाले १५ खेलाडी सहभागी महिला ५ हजार मिटर दौडमा १३औं स्थानमा दाैड सकाएकी छिन्। विश्वरुपाले निर्धारित दूरी १७ मिनेट २४.७८ सेकेन्डमा पूरा गरिन्।
भलिबल
पुरुष भलिबलको १२ देखि १८औं स्थानको र्याङ्किङ निर्धारण गर्न भएको प्रतिस्पर्धामा नेपालले मंगोलियालाई २६–२८, २५–१६, ३०–२८ र २५–१९ को सेटमा पराजित गर्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।