महेन्द्रनगर- महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पतालमा तोडफोड तथा चिकित्सकमाथि हातपात गर्ने दुई जनालाई सार्वजनिक अपराधको मुद्दा दर्ता गरिएको छ।
आक्रमण आरोपमा पक्राउ परेका पाँचमध्ये तीन जनालाई रिहा गरिएको छ भने दुई जनामाथि मुद्दा दायर गरिएको हो। मुद्दा दायर गरिएका धरौटीमा समेत छुट्न नपाउने सहमतिपछि अस्पतालको सेवा पुन: सुरु भएको छ।
जिल्ला प्रशासन कार्यालयमा सोमबार भएको सर्वपक्षीय भेलामा अस्पतालको सेवा सुचारु गर्ने र आक्रमणकारीलाई मुद्दा चलाउने सहमति भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अशोक पाण्डेले जानकारी दिए।
अञ्चल अस्पतालमा सुत्केरी गराउन ल्याएकी महिलाको शिशुको मृत्यु भएपछि उनका आफन्तले शनिबार राति आक्रमणमा उत्रिएका थिए।
बिरामीका आफन्तले डा सत्य कोइरालामाथि हातपातको प्रयास गरेका थिए। सो क्रममा ड्युटीमा खटिएका प्रहरीका जवान प्रतासिंह बोहराको टाउकोमा चोट लागेको छ। उनको टाउकोमा ४ टाँका लगाइएको छ।
घटनापछि अस्पतालमा कार्यरत सबै कर्मचारी आइतबार बिहानैदेखि आन्दोलनमा उत्रिएका थिए। अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएकाले उपचारका लागि आएका बिरामीहरु मर्कामा परेका थिए।
शनिबार राति सुत्केरी गराउन ल्याइएकी भीमदत्त नगरपालिका १ बारकुन्डाकी सरस्वती विष्टले शिशु जन्माउने क्रममा शिशुको मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।