रुपन्देही– रुपन्देहीमा आत्महत्या गर्नेको संख्यामा बढेको छ। मानिस बढी महत्वाकांक्षी बन्दै जानु, मानसिक तनाव, बहुविवाह, आत्मग्लानी र गरिबी लगायतका कारण वर्षेनी आत्महत्या गर्नेको संख्या बढ्दै गएको प्रहरीको तथ्यांकमा उल्लेख छ।
प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७०/७१ देखि २०७५/७६ को साउन मसान्तसम्म ९ सय २६ जनाले झुन्डिएर, विष सेवन गरेर, हातहतियार प्रयोग गरेर र हाम फालेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता कुमोद ढुंगेलले बताए।
ढुंगेलका अनुसार अत्याधिक महत्वाकांक्षी हुनु र ती आवश्यकता पुरा नहुँदा, वैदेशिक रोजगारी, श्रीमान् श्रीमती बीच मनमुटाव, पारिवारिक विछोड जस्ता कारणले आत्महत्याका घटनाहरु बढ्दै गएको हाे। त्यस्तै, मानसिक तनाव, प्रेम सम्बन्ध, बहुविवाह, बढ्दो प्रविधिसँगै आएको विकृति, घरेलु हिंसा, आत्मग्लानी, गरिबी लगायत पनि आत्महत्याका मुख्य कारण भएको प्रहरीले जनाएको छ।
प्रहरी तथ्यांक हेर्दा आत्महत्या गर्नेमा सबैभन्दा बढी पुरुष छन्। २०७०/७१ देखि चालु आर्थिक वर्षको साउन मसान्तसम्म ४ सय ६१ पुरुष र ४ सय १५ महिलाले आत्महत्या गरेका थिए। त्यस्तै ११ जना १६ वर्ष मुनिका बालक र ३२ जना बालिका तथा ६ जना विदेशी पुरुष र १ जना विदेशी महिलाले पनि आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। आत्महत्या गर्ने विदेशीहरु सबै भारतीय हुन्। चालु आर्थिक वर्षको साउन महिनामा मात्रै १७ जनाले आत्महत्या गरेका छन्।
गत आर्थिक वर्ष २०७४/७५ मा जिल्लामा २ सय २६ जनाले आत्महत्या गरेका थिए। आव २०७३/७४ मा १ सय ८१ जना, २०७२/७३ मा १ सय ६५ जना, आव २०७१/७२ मा १ सय ५६ जना र आव २०७०/७१ मा १ सय ८० जनाले आत्महत्या गरेको प्रहरी तथ्यांकमा उल्लेख छ।
आत्महत्या गर्नेमा २० वर्ष देखि ४५ वर्ष उमेर समूहका बढी छन्। यीमध्ये अधिकांश झुन्डिएर र त्यस माथिका धेरैले विष सेवन गरी आत्महत्या गर्ने गरेको प्रहरीको भनाई छ। त्यस्तै, जिल्लामा आगो लगाएर, हाम फालेर, औजार प्रयोग गरेर पनि आत्महत्या गर्नेहरुको संख्या बढ्दै गएको छ। प्रवक्ता कुमोद ढुंगेलले वर्षेनी आत्महत्याका घटनाहरु बढ्दै गएपछि कारण र न्यूनिकरणबारे सुक्ष्म अनुसन्धान गरिरहेको बताए।
युवाहरुलाई रोजगार बनाउने, सचेतना वृद्धि गर्नुका साथै मनोबल बढ्ने खालका कार्यक्रममा जोड्न सके न्यूनिकरण गर्न सकिने विशेषज्ञहरु बताउँछन्। त्यस्तै, थकान, निराशा, अनावश्यक तनाव, पुराना कुराहरुप्रति वितृष्णा हुने जस्ता किसिमका लक्षण देखिए चिकित्सकहरुसँग परामर्श लिनुपर्ने मनोविज्ञ डा सञ्जिव शाहले बताए। डा शाहका अनुसार आत्महत्याका घटनाहरु न्यूनीकरण गर्ने भए विद्यालयस्तरबाटै सचेतना अभियान चलाउनुपर्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।