काठमाडौं– नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको करोडौं ठगी प्रकरणमा पक्राउ परेकामध्ये दुई जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
अदालतले धरौटीमा रिहा गर्न आदेश दिएका टंक गुरुङ र नेपाल प्रहरीकी बहालवाला सई लक्ष्मी महर्जन अझै रिहा भएका छैनन्। धरौटी बुझाउँदासमेत उनीहरु रिहा नहुनुको कारण भने थप कारबाही प्रक्रिया रहेको बुझिएको छ। ठगी, संगठित ठगी, राज्यविरुद्धको कसुर, लिखतसम्बन्धी कीर्ते र एकीकृतको कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको थियो।
यो प्रकरणमा ३० जनालाई प्रतिवादी बनाइए पनि १८ जना मात्रै पक्राउ परेका थिए। पक्राउ परेकामध्ये लक्ष्मी र टंकलाई क्रमश ५ लाख र १० लाख धरौटीमा रिहा गर्न जिल्ला अदालतका न्यायाधीश प्रेमराज न्यौपानेको शुक्रबारको इजलासले आदेश गरेको थियो।
सोही आदेश अनुसार उनीहरु दुवै जनाले धरौटी रकमसमेत बुझाएका थिए।, तर अहिलेसम्म उनीहरु रिहा भएका छैनन्। यी पाँच वटा कसुरसँगै उनीहरुविरुद्ध सम्पत्ति सुद्धीकरण र अख्तियारलेसमेत अनुसन्धान गरेर कारबाही गर्नुपर्ने भनेर जिल्ला सरकारी वकिल कार्यालयले लिखित रुपमै उल्लेख गरेको थियो।
जसकारण धरौटी बुझाए पनि लक्ष्मी र टंकलाई थप अनुसन्धान तथा कारबाहीका लागि भनेर सम्पत्ति शुद्धीकरण विभागमा बुझाइएको प्रहरीले जनाएको छ। विभागले यी दुबैको बयान सकेर लक्ष्मीसँग ५० हजार र टंकसँग १ लाख ५० धरौटीमा माग गरेको थियो।
उनीहरुले धेरौटी रकम बुझाएपछि थप अनुसन्धान तथा कारबाहीका लागि अहिले उनीहरुलाई अख्तियारमा बुझाइएको सम्पत्ति सुद्धिकरण विभागले जनाएको छ। यो ठगी प्रकरणमा २८ करोड रूपैयाँभन्दा बढी बिगो कायम गर्दै मुद्दा चलाइएको थियो।
जसमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, सांसद तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डेसहित १६ जना अभियुक्तहरु अहिले केन्द्रीय कारागार सुन्धारामा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।