काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पादकहरुसँगको भेटमा निराशा नबढाइदिन गरेको आग्रहप्रति नेपाली कांग्रेसको तर्फबाट राष्ट्रियसभामा प्रतिनिधित्व गरेका राधेश्याम अधिकारीले आश्चर्य व्यक्त गरेका छन्। अधिकारीले प्रेसले नभई सरकारले निराशा बढाएको बताए।
प्रधानन्त्रीले सोमबार सम्पादकहरुसँग भेट गरेका थिए।
'प्रधानमन्त्रीले भन्नुभएछ, कम्तीमा तपाईंहरुले लेख्दा देखेको कुरा लेख्नुस्। बुझेको कुरा लेख्नुस्। लेख्दाखेरी निराशा नबढाइदिनुस्। मुलुकलाई निराशा बढाइदिनुभयो भने सम्हाल्न गाह्रो हुन्छ', मंगलबारको राष्ट्रियसभामा अधिकारीले सोधे, 'निराशा बढाएको प्रेसले हो?'
'६ महिनामा प्रधानमन्त्रीलाई महसुस भएछ कि मुलुकमा निराशा बढ्दोछ। त्यो निराशालाई आशामा बदल्ने काम कसको हो? प्रेसको हो कि प्रधानमन्त्रीको? यसमा हेक्का राखेर बोलेको भए राम्रो हुन्थ्यो', उनले सुझाव दिए।
नागरिकको हैसियतमा थाइल्यान्ड जान लागेका अयोग्य लडाकुलाई विमानस्थलमा रोकेर मुलुकमा आशा नबढ्ने पनि उनले बताए। (अन्तर्राष्ट्रिय कार्यक्रममा जान लागेका माओवादीका पूर्व बालसैनिक लेनिन बिष्टलाई विमानस्थलबाटै फर्काइएको थियो।)
'उनले त्यहाँ गएर बोल्दाखेरी उनको अभिव्यक्तिले कति नोक्सान पार्थ्यो थाहा छैन। तर संसारभरि एउटा सन्देश प्रवाह गर्यो कि नेपालको कुनै नागरिकले बाहिर बोल्न जानका निम्ति सरकारको अनुमति नभई पाइँदो रहेनछ', अधिकारीले भने, 'मानव अधिकारको ठाडो उल्लंघन भयो। यस्तो कार्यले आशा जगाउँछ कि निराशा जगाउँछ?'
उनले विप्लव नेतृत्वको नेकपाका प्रवक्ता प्रकान्डलाई सर्वोच्च अदालतले छोड्दै जाने र सरकारले पक्रँदै गरेकोमा पनि आपत्ति जनाए। 'यो के भएको हो'?, उनले प्रश्न गरे, 'सरकारले मानवअधिकारप्रति आशा प्रकट गर्ने कुरा गरेको यही हो? यही हो आशा लाग्ने काम गरेको?'
अधिकारीले निर्मला पन्त प्रकरण राज्य संयन्त्र असफल भएको प्रमाण भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।