काठमाडौं- राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिले शनिबार नवौँ चुरे संरक्षण दिवस मनाउँदैछ। समिति र सम्बन्धित निकायले चुरे आसपासका क्षेत्रमा वृक्षरोपण तथा जनचेतनाका विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदैछन्। सरकारले २०७१ साल असार २ गते सो समिति गठन गरेको थियो।
राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सरकारको प्रकृति संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्य लिएको एक त्र राष्ट्रिय गौरवको आयोजना हो। समितिका अध्यक्ष डा किरण पौडेलले स्थापनाको दिवसका अवसरमा ‘चुरेको माटो चुरेलाई, सफापानी सबैलाई’ भन्ने साझा लक्ष्यमा अघि बढ्न सबैलाई आह्वान गरेका छन्।
उनले चुरे संरक्षणको गहन अभिभारा पूरा गर्ने काममा सहयोग पुर्याउने बन तथा वातावरण मन्त्रालय, अन्य पूर्वाधार विकास गर्ने मन्त्रालय, प्रदेश सरकार तथा स्थानीय तह, सुरक्षा निकाय, सामुदायिक बन उपभोक्तालगायत स्थानीय समुदाय, विकास साझेदार एवं सबैलाई धन्यवाद दिएका छन्।
नेपालमा पूर्व इलामदेखि पश्चिम कञ्चनपुरसम्म ३७ वटा जिल्लामा कुल भू–भागको १२ दशमवलव ७८ प्रतिशत क्षेत्रमा फैलिएर रहेको अत्यन्त संवेदनशील र कमजोर अवस्थाको चुरे पहाड तराई मधेसको अस्तित्वसँग अन्योन्याश्रित सम्बन्ध राख्दछ।
चुरे क्षेत्र भौगर्भिक रूपमा कमजोर, धेरै पानी पर्ने, भूकम्पीय कारणबाट अति जोखिमयुक्त, जैविक विविधतामा धनी रहेको, दुर्लभ बन्यजन्तुको बासस्थान र जैविक मार्ग हो। बलौटे ढुङ्गा एवं माटो ढुङ्गा सङ्गुरीकाले बनेका कारण चुरे भूभाग निकै कमजोर छ।
अव्यवस्थित बसोबास, बन अतिक्रमण, बन डढेलो, खुला चरिचरण र नदीजन्य पदार्थको दोहन, अनियन्त्रित भौतिक पूर्वाधार निर्माण, भू–क्षयजस्ता कारणले यो क्षेत्र झनै संवेदनशील बन्दै गएको छ।
यस्तै गतिविधिका कारण तराई मधेस मरुभूमीकरण हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चुरे–तराई मधेस क्षेत्रका ३७ जिल्लाका तीन सय २५ स्थानीय तहका करिब ५८ प्रतिशत मानिसको जीवन पद्धतिसँग सम्बन्धित यो क्षेत्रका एक सय ६४ नदी प्रणाली र तिनका जलाधार क्षेत्रलाई संवेदनशील एवं जोखिमपूर्ण भौगोलिक क्षेत्र घोषणा गर्दै वातावरण संरक्षण क्षेत्र कायम गरी नेपाल सरकारले समितिको गठन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।