काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको देखिन्छ।
अहिले कोशी प्रदेश, मधेस प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। कोशी प्रदेश र मधेस प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बुधबार दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र मधेस प्रदेश लगायत बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
बुधबार राति कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै मधेस प्रदेश लगायत बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।
मधेस प्रदेशसहित पूर्वी तराईमा वर्षाको सम्भावना रहे पनि मध्य तथा पश्चिम तराईमा भने अत्यधिक गर्मी रहने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अघिल्ला दिनहरुझैं बुधबार पनि मध्य तथा पश्चिम तराईमा अत्यधिक गर्मी रहनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।