जाकर्ता (इन्डोनेसिया)- एसियाली खेलकुदमा नेपालले मात्र तीन खेल तेक्वान्दो, बक्सिङ र करातेमा पदक जितेको छ। इन्डोनेसियमा जारी १८ औं एसियाली खेलकुदअन्तर्गत यि तीनै खेलमा नेपाल पदकविहीन बेनेको छ। तेक्वान्दोको चुनौती भदौ ७ गते सकिएको हो भने कराते र बक्सिङ दुवै सोमबार पदकविहीन बने।
विगतका एसियाली खेलकुदमा नेपालले तेक्वान्दोबाट १ रजत र १३ कांस्य, बक्सिङबाट ६ कांस्य र करातेबाट ३ कांस्य जितेको छ।
सोमबार करातेमा दुई नेपाली खेलाडीले प्रतिस्पर्धा गरेका थिए। पुरुष ८४ केजीमुनि नेपालका दिवस श्रेष्ठ पहिलो चरणमा इरानका पोर्सब जाभिओलाहसंग ८–० ले पराजित भए।
महिलाको ५० केजीमुनि नेपालकी अनु अधिकारी कांस्य पदकका लागि भिडे पनि चुकिन्। सागकी रजतधारी अनु कांस्य पदकका लागि भएको भिडन्तमा जापानकी मिहो मियातेरासंग ९–० ले पछि परिन्। पहिलो रिपाचेमा अनुले लाओसकी सिरिभिमाने सिरिमोङ खौनलाई ३–१ ले हराउदै कांस्य भिडन्त पक्का गरेकी थिइन्। पहिलो चरणमा भने अनुले मकाउकी चिङ छियुङलाई ५–१ ले पाखा लगाउदै क्वाटरफाइनलमा प्रवेश गरेकी थिइन्। क्वाटरफाइनलमा अनु ताइपेईंकी सियाउसुङ गुसंग ५–१ ले निराश हुनु पर्यो। सियाउसुङ फाइनलमा पुगेपछि अनुले रिपाचे खेल्ने अवसर पाएकी हुन्। एसियाली खेलकुदको १० औं दिनसम्म आइपुग्दा कुनै दुई खेलमा जित हात पार्ने अनु पहिलो नेपाली खेलाडी बनिन्। सियाउसुङले उक्त स्पर्धाको स्वर्ण पदक जितिन्।
बक्सिङको पुरुष ७५ केजीमा १२ औं सागका कांस्य विजेता दीपक श्रेष्ठलाई ताइपेईंका चियावेइ कानले ५–० ले पराजित गरे।
टेबलटेनिस
टेबलटेनिसको पुरुष÷महिला दुवैको टिम इभेन्टमा नेपालको पराजय यात्रा जारी छ। पुरुषमा नेपाल दक्षिण कोरियासंग ३–० सँग पराजित भयो। लाओसलाई भने ३–१ ले हरायो। महिलामा नेपाललाई हङकङ र भियतनामले समान ३–० को नतिजामा हराए।
सेपाकताक्रो
एसियाली खेलकुदमा पहिलो पटक सहभागिता जनाएको सेपाकताक्रोको पुरुष रेगु स्पर्धामा नेपालको चुनौती समाप्त भएको छ । सोमबार नेपाल भारतसंग २–० ले पराजित भयो। त्यसअघि नेपाल चीन, मलेसिया र दक्षिण कोरियासंग पनि समान २–० को नतिजामा पराजित भएको थियो। नेपालले मंगलबार पुरुष क्वाड स्पर्धामा प्रतिस्पर्धा गर्नेछ।
प्लाराग्लाइडिङ
प्याराग्लाइडिङको टिम क्रस कन्ट्री इभेन्टको तेश्रो चरण समाप्तिसम्म नेपाली पुरुष टिम चौथो स्थानमा छ। नेपाल अघिल्ले दिन तेस्रो स्थानमा थियो। आयोजक इन्डोनेसिया, जापान र दक्षिण कोरिया क्रमशः शीर्ष तीन स्थानमा छन्। सोही स्पर्धाको महिलामा भने नेपाल पाँचौंबाट छैटौं स्थानमा झरेको छ। जापान पहिलो, दक्षिण कोरिया दोश्रो र इन्डोनेसिया तेश्रोमा छन्। पाँचौं चरणसम्म हुने प्रतिस्पर्धा बुधबार सम्पन्न हुनेछ।
स्क्वास
नेपालले एसियाडमा सहभागिता जनाउने २९ खेल मध्ये अन्तिममा समावेश भएको स्क्वासको पुरुष टिम इभेन्टमा नेपाल पराजित भएको छ। नेपाल दक्षिण कोरिया र पाकिस्तानसंग समान ३–० को नजितमा पराजित भयो। पुरुष सिंगल्समा भने नेपालको चुनौती समाप्त भइसकेको छ।
एथलेटिक्स
नेपालकी सरस्वती भट्टराईले महिला ८ सय मिटर दौडमा आफ्नो व्यक्तिगत समयमा सुधार गरेकी छिन्। जकार्ताको गेलारो बुङ कार्नो रंगशालामा सरस्वतीले निर्धारित दूरी २ मिनेट १२.८५ सेकेन्डमा पूरा गर्दै आफ्नो व्यक्तिगत समयमा सुधार गरेकी हुन्। सरस्वतीको उत्कृष्ट व्यक्तिगत समय २ मिनेट १३.९९ सेकेन्ड थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।