काठमाडौं– नयाँ बानेश्वरस्थित मण्डला थिएटरमा असार पहिलो सातादेखि एकैपटक दुई नाटक प्रदर्शनमा आउने भएका छन्।
मण्डलाको स्टुडियो थिएटरमा असार ७ गतेदेखि नाटक ‘कोराघाट’ मञ्चन हुने भएको हो। भने सोही स्थानको ठूलो प्रेक्षालयमा असार ८ गतेदेखि नाटक ‘हिउँभन्दा चिसो’को नियमित प्रदर्शन हुनेछ।
मण्डला थिएटर नेपालले नियमित रुपमा गर्दै आएको अभिनय प्रशिक्षण कार्यक्रम थिएटर ल्याबको एघारौं ब्याचका प्रशिक्षार्थीलाई लिएर तयार पारिएको नाटक कोराघाटलाई वरिष्ठ रंगकर्मी तथा चलचित्र अभिनेता कमलमणि नेपालले निर्देशन गर्दैछन्।
कुमार नगरकोटीको कथा ‘कोराघाटका क्रियापुत्रीहरू’मा आधारित नाटक असार २१ गतेसम्म हरेक साँझ ४ बजे मञ्चन गरिनेछ। तीन महिनासम्म अभिनयको आधारभूत प्रशिक्षण लिएका प्रशिक्षार्थीहरुले सिकेका कुरालाई मञ्चमा देखाउने अवसरका रुपमा कोराघाटको मञ्चन राखिएको छ।
मण्डला थिएटरमा मञ्चन हुने नाटक ‘हिउँभन्दा चिसो’लाई साइकोलोजिकल थ्रिलर जनराको बताइएको छ। हाललाई कथावस्तु र परिवेश नखुलाइएको नाटक ‘हिउँभन्दा चिसो’मार्फत् पुराना रंगकर्मी तथा चलचित्र कलाकार भोलाराज सापकोटालाई फेरि एकपटक मञ्चमा देख्न पाइने भएको छ।
बलिउड चलचित्र बर्फीमा रणवीर कपुरसँग स्क्रीन सेयर गरेर चर्चा कमाएका सापकोटाले त्यसयता थुप्रै नेपाली चलचित्रहरुमा काम गरेता पनि ६ वर्षअघि बिमल सुवेदीद्वारा निर्देशित ‘हेम्लेट’पछि कुनै नाटकमा अभिनय गरेका थिएनन्।
लामो समयपछि नाटक खेल्ने अफर आएको, स्क्रिप्ट मन परेको र समय पनि अनुकूल भएका कारण हिउँभन्दा चिसोमा अभिनय गर्न लागेको र यसले आफूलाई उत्साहित बनाएको सापकोटाले बताएका छन्। नाटक ‘हिउँभन्दा चिसो’मा सापकोटासँगै कलाकारद्वय रेणु योगी र गोविन्द सुनारको अभिनय देख्न पाइनेछ। नाटकलाई सोमनाथ खनालले निर्देशन गर्दैछन्।
खनालको निर्देशनमा यसअघि ‘रमाइलो’, ‘इदमित्थम’ र ‘तीन ट्रान्जिट’ जस्ता नाटकहरुलाई मण्डला थिएटरले देखाइसकेको छ। करिब १ घण्टा ३० मिनेट लामो नाटक मण्डलाको प्रेक्षालयमा श्रावण १४ गतेसम्म हरेक साँझ पौने छ बजे मञ्चन हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।