काठमाडौैं– डान्सबारमा काम गर्ने एक युवतीको आइतबार बेलुका रहस्यमय मृत्यु भएको छ। प्रहरीले अनुसन्धानका लागि उनका प्रेमीलाई पक्राउ गरेको छ।
साँखु घर भई तारकेश्वरको शेषमति डेरा गरी बस्ने २० वर्षीया जेनिशा भन्ने कोपिला श्रेष्ठको मृत्यु भएको हो। प्रहरीले उनका प्रेमी सागर भन्ने बहादुर कार्कीलाई पक्राउ गरेको छ। उपचारको क्रममा श्रेष्ठको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो। युवतीको चिउँडोमा चोट छ।
डान्सबारको चिनजान, डेरामा प्रेम
महानगरीय प्रहरी वृत्त बालाजुका अनुसार युवती सुन्धाराको रोयल ग्यालेक्सी डान्सबारमा काम गर्थिन्। विदेशमा काम गर्ने सागर करिब तीन महिनाअघि सो डान्सबारमा गएका थिए। त्यही उनीहरुबीच चिनजान भयो। युवतीले पहिलो भेटमै उनलाई मोबाइल नम्बर दिएकी थिइन्।
पछि बाहिर उनीहरुसँग भेटघाट भयो। प्रेम सम्बन्धमा जोडिए।
युवतीको डेरा शेषमतिमा थियो। युवक नियमितजसो त्यहाँ पुग्न थाले। दुवै जना मदिरा पिउँथे।
युवकले प्रहरीले बताए अनुसार आइतबार पनि उनीहरुले ‘छ्याङ’ र माछा खाएका थिए। मदिरामा दुवै जना मात्तिएका थिए। ‘म ट्वाइलेट गएको बेला ऊ झुन्डिछ,’ युवकले प्रहरीलाई भनेका छन्, ‘सुरुमा त नाटक गरेको जस्तो लाग्यो, त्यतिकै खाटमा बसिरहेँ, पछि डोरी निकालेर उनलाई खाटमा राखेँ, तैपनि नबोलेपछि ट्याक्सी खोजेर अस्पताल लगेको हुँ।'
घटना साँझ करिब साढे ६ बजेको हो। अस्पतालले बेलुका करिब ८ बजे युवतीलाई मृत घोषणा गरेको थियो। अस्पतालमै युवक पक्राउ परेको बालाजु वृत्तका इन्सपेक्टर जीवन निरौलाले बताए।
‘मृतकको चिउँडोमा चोट देखिन्छ,’ इन्सपेक्टर निरौला भन्छन्, ‘हत्या हो कि आत्महत्या हो भन्ने कुरा पोस्टमार्टममा खुल्नेछ।’ आफूहरुबीच कुनै विवाद नभएको तर युवती मदिरामा धेरै मात्तिएकाले आत्महत्या गरेको हुनसक्ने युवकको भनाइ छ।
प्रहरीले युवकलाई मंगलबार अदालतमा उपस्थित गराई अनुसन्धान अघि बढाउने तयारी गरेको छ।
युवती विवाहित हुन्। तर, श्रीमान्सँग सम्बन्ध राम्रो थिएन। युवक पनि विवाहित हुन्। नवलपरासी बर्दघाट नगरपालिका–१५ घर भएका उनकी श्रीमती वैदेशिक रोजगारमा कुवेतमा छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।