काठमाडौं– स्थानीयहरुको घाट, वन र सडकको जग्गा कब्जा गरी रिसोर्ट चलाउँदै आएको सुकुटे बिचलाई वन तथा भू–संरक्षण विभागले कारबाहीका लागि पत्र काटेको छ।
विभागका महानिर्देशक देवेशमणि त्रिपाठीले जेठ १७ गते पत्र लेख्दै उक्त रिसोर्टले सार्वजनिक जग्गा अतिक्रमण गरी व्यवसाय चलाएको बारेमा स्थलगत अध्ययन गरी प्रतिवेदनसमेत पेस गर्न प्रदेश वन निर्देशनालय हेटौँडालाई पत्र लेखेको छ।
विभागले उक्त क्षेत्रका बारेमा सार्वजनिक सञ्चार माध्यमदेखि हेलो सरकारसम्म उजुरी परेको भन्दै प्रदेश वनलाई कारबाहीका लागि पत्र लेखेको हो। विभागको पत्रपछि डिभिजन वन कार्यालय सिन्धुपाल्चोकलाई प्रदेशले पत्र पठाएको छ। प्रदेशले उक्त रिसोर्टको बारेमा तत्काल निर्णय गर्नसमेत भनेको छ।
प्रधानमन्त्री प्रचण्ड 'रिफ्रेस' हुन जाने सुकुटे बिच रिसोर्ट : ३० रोपनी सरकारी जग्गा कब्जा गरेर रजाइँ
उक्त रिसोर्टले आफ्नो ३ रोपनी जग्गा र अन्य सरकारी जग्गा प्रयोग गरी २५ वर्षदेखि रिसोर्ट सञ्चालन गरेको खुलाशा नेपाल लाइभले गरेको थियो। स्थानीयहरुले पटक–पटक उजुरीसमेत दिएका थिए। तर, सञ्चालक महेन्द्र थापाले प्रधानमन्त्री प्रचण्डसँगको सम्बन्ध देखाउँदै रिसोर्टको सरकारी जमिन छोड्न अस्वीकार गर्दै आएका थिए।
1686462031.jpg)
जिल्ला मालपोत कार्यालय सिन्धुपाल्चोकले उपलब्ध गराएको श्रेस्ता अनुसार उनको नाममा ३ रोपनी ६ आना ३ पैसा जग्गा रहेको छ। बाँकी जग्गा मिचेर उपभोग गरिरहेको देखिन्छ। उक्त रिसोर्टले स्थानीयको घाट पनि कब्जा गरेको छ। वर्षौंदेखि स्थानीयहरुले लास जलाउने घाट रहेको क्षेत्रमा थापाले बिच भलिबल खेल्ने मैदानदेखि रिसोर्टमा आउने ग्राहकलाई राख्ने टेन्टसम्म निर्माण गरेका छन्।
स्थानीयको उजुरी अलपत्र पारेर देखावटी अनुगमनमा सरकारी संयन्त्र, वन कार्यालयका प्रमुख भन्छन्- अध्ययनमै छौं
पर्यटकका लागि र्याफ्टिङ गन्तव्यको रुपमा चर्चित उक्त क्षेत्रमा रिसोर्टले र्याफ्टिङ पनि सञ्चालन गर्दै आएको छ। र्याफ्टिङका लागि पनि बिना शुल्क सरकारी जग्गा प्रयोग गरिएको छ।
सिन्धुपाल्चोकको प्रख्यात र चर्चित पर्यटकीय गन्तव्य मानिने सुकुटेमा नदी किनारा र वनको जग्गा हडपेर रिसोर्ट बनाइएको भन्दै स्थानीयवासीले पटकपटक जिल्ला वन कार्यालय, जिल्ला प्रशासन कार्यालय, चौतारा साँगाचोक गढी नगरपालिका र वडामासमेत लिखित उजुरी गरेका छन्।
रिसोर्टले वर्षौंदेखि न सरकारलाई जग्गाको भाडा तिर्छ न सरकारी निकायले खोजी नै गरेको छ। रिसोर्ट सञ्चालक थापाले स्थानीय केही युवा र विद्यालयका शिक्षकका लागि भन्दै केही पैसा दिने र बाँकी राजनीतिक पहुँच देखाएर कब्जा गरिरहेको स्थानीयहरुको आरोप छ।
झन्डै २५ वर्षदेखि सञ्चालनमा रहेको सुकुटे बिच रिसोर्टको जग्गाको विषयमा विगतमा पनि विवाद आउने गरेको तर सञ्चालकले राजनीतिक पहुँच र आर्थिक चलखेल गरेर मिलाउने गरेको स्थानीयको आरोप छ।
सुकुटे रिसोर्टमा पिकनिक गएका युवकको रहस्यमय मृत्यु
वन विभागले उक्त रिसोर्टमा भएका घटनाहरुको विषयमा पनि जानकारी पठाउन निर्देशन दिएको छ। उक्त रिसोर्टमा मदिराले बेहोस भएकी एक युवतीलाई बलात्कार भएको घटना गुपचुपमै मिलाइएको यो घटना लुकाउन थापाले राजनीतिक शक्तिको आड लिएको आरोपका विषयमा पनि प्रष्ट पार्न भनेको छ।
1686462031.jpg)
‘अहिले थापाले रिसोर्टमा राति आठ बजेपछि प्रहरीलाई समेत रिसोर्ट प्रवेश गर्न दिँदैनन् भन्ने व्यहोराको गुनासो यस विभागमा प्राप्त भएकोमा सो सम्बन्धमा के भएको हो? भनि निर्देशनालयबाट स्थलगत निरीक्षण गरी नियमानुसार कारबाही गरी भए/गरेका सम्पूर्ण कारबाहीको विवरण यथासिघ्र विभागमा पठाउनू’ विभागले भनेको छ। विभागले पत्रको बोधार्थ पठाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, हेलो सरकार, डिभिजन वन कार्यालय सिन्धुपाल्चोकलाई आवश्यक सहयोग गर्न अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।