काठमाडौं–सभामुख कृष्णबहादुर महराले ग्लोबल तेक्वान्दो डेमोस्टेसन प्रतियोगितामा भाग लिन दक्षिण कोरिया जान लागेका तेक्वान्दो खेलाडीलाई बिदाइ गरेका छन्।
सोमबार बिहान सभामुखले सरकारी निवास बालुवाटारमा नेपाल तेक्वान्दो संघका खेलाडी टोलीलाई बिदाइ गरेका हुन्। टोलीलाई अबिर माला लगाएर बिदाइ गर्दैै सभामुख महराले तेक्वान्दो खेलमा उच्च क्षमता प्रदर्शन गरी नेपालको नाम विश्वमा चिनाउन खेलाडीहरूलाई आग्रह गरे।
‘तपाईंहरू नेपालको तर्फबाट तेक्वान्दो खेल्न जाँदै हुनुहुन्छ,’ उनले भने, ‘उच्च क्षमता प्रदर्शन गरी खेलमा विजय हासिल गर्नुहोस्, तपाईंहरूको सफलता सिंगो देशकै सफलता हुनेछ। तपाईंहरूलाई सफलताको लागि मेरो हार्दिक शुभकामना छ।’
खेल क्षेत्रको सफलता मिले नेपाललाई विश्वमा चिनाउन सकिने भन्दै सभामुख महराले राज्यले खेल क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए।
विश्व तेक्वान्दो महासंघको आयोजनामा यही अगष्ट २९ देखि सेप्टेम्बर ४ सम्म दक्षिण कोरियामा हुन लागेको ग्लोबल तेक्वान्दो डेमोस्टेसन प्रतियोगितामा नेपाल तेक्वान्दो संघको टोली सहभागी हुन लागेको हो।टोलीमा प्रशिक्षक र क्याप्टेनसहित २० जना सहभागी रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।