जाकर्ता (इन्डोनेसिया)- १८औं एसियाली खेलकुदमा नेपालकी कराते खेलाडी अनु अधिकारी कास्य पदक जित्नबाट चुकेकी छिन्। महिला ५० केजी मुनी तौल समूहको कास्य पदकका लागि भएको भिडन्तमा अनु जापानकी मियाहारा मिरोसँग ९-० अंकले पराजित हुँदा कास्य पदकबाट बिमुख भएकी हुन्।
अनुबिरुद्ध जापानकी मियाहारा सुरुवातमै आक्रमण देखिएकी थिइन्। पहिलो १ मिनेटमै ९ अंक जोडेपछि मियाहारले कास्य जित्न सफल भइन्।
सोमबार सेन्ट्रल जाकर्ताको जेसीसी प्लेनरी हलमा भएको प्रतिस्पर्धमा अनुले अन्तिम १६ को खेलमा मकाउकी खेलाडी चीन चाओङलाई ५-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएकी थिइन्। तर क्वार्टरफाइनल उनी चाइनिज ताइपेहकी गु सियाउसाङसँग ७-२ ले पराजित भइन्। ताइपेहकी सियाउसाङले सेमिफाइनलमा मियाहारा मिरोलाई ४-२ ले पराजित गरेपछि नेपालकी अनुले कास्य पदकका लागि हुने रिपचेज खेल्न पाएकी थिइन्।
रिपचेजको पहिलो खेलमा अनुले लाओसकी खेलाडी सिरिभिमोनलाई ३-१ ले पराजित गरेकी थिइन्। सिरिभिमोलाई पराजित गरेसँगै अनुले जापानकी मियाहारासँग कास्य पदकको लागि हुने भिडन्त पक्का गरेकी थिइन्।
यता क्वार्टरफाइनलमा अनुलाई हराएकी ताइपेहकी खेला८ी सियाउसाङले महिला ५० केजी मुनी तौल समूहको स्वर्ण जितेकी छिन्।
यता करातेका अर्का खेलाडी दिवश श्रेष्ठ क्वार्टरफाइनलमा पराजित भएका छन्। ८० केजी मुनी तौल समूहमा दिवशलाई इरानका पुरसाह जाबोलाहले ८-० ले हराए। योसँगै नेपालको करातेमा पनि चुनौती समाप्त भएको छ। एसियाली खेलकुद दशौं दिन चलिरहदा नेपालले अझै पनि पदक जित्न सकेको छैन।









नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।