काठमाडौं– फिफा विश्वकप फुटबल प्रतियोगिता २०१८ का लागि अहिलेसम्म १७ देशले स्थान सुरक्षित गरेका छन्। एक वर्षपछि रसियामा हुने विश्वकपमा छनोट भएका देशहरुमा लगातार छनोट हुनेदेखि पहिलो पटक छनोट हुनेसम्म छन्।
३२ टिमबीच प्रतिस्पर्धा हुने प्रतियोगितामा अब १५ देश छनोट हुन बाँकी छन्।
युरोपबाट अहिलेसम्म ८ टिमले विश्वकपमा स्थान पक्का गरेका छन्। जसमा आयोजक रसियासहित स्पेन, बेल्जियम, जर्मनी, इंग्ल्यान्ड, पोल्यान्ड, सर्बिया र आइसल्यान्ड छन्।
आइसल्यान्डले पहिलो पटक विश्वकपमा स्थान बनाएको हो। आइसल्यान्डले गत वर्ष भएको युरो कप पनि पहिलो पटक नै खेलेको थियो। पहिलो सहभागितामै आइसल्यान्डले युरो कपमा क्वार्टरफाइनलको यात्रा तय गरेको थियो।
सर्बिया एघारौं पटक छनोट भएको हो। सर्बियाको नाममा भने दोस्रो पटक छनोट भएको हो। सर्बिया एन्ड मोन्टेनेग्रोको नाममा दुई पटक विश्वकपमा सहभागिता जनाएको सर्बियाको पुरानो नाम युगोस्लाभिया हो। युगोस्लभियाले विश्वकपमा सात पटक सहभागिता जनाएको थियो।
आयोजक रसिया एघारौं पटक विश्वकपमा छनोट भएको हो। यस्तै जर्मनी १९औं पटक, इंग्ल्यान्ड १५औं पटक, बेल्जियम १३औं पटक र स्पेन १५औं पटक विश्वकपमा छनोट भए। जर्मनी चार पटक तथा इंग्ल्यान्ड र स्पेनले समान एक पटक विश्वकपको उपाधि जितेका छन्। जर्मनी साबिक विजेता हो। आठौं पटक छनोट भएको पोल्यान्ड सन् २००६ पछि विश्वकपमा फर्कियो।
एसियाबाट इरान, दक्षिण कोरिया, जापान र साउदी अरेबिया छनोट भइसकेका छन्। इरान पाँचौ पटक, जापान छैटौं पटक, दक्षिण कोरिया दसौं तथा साउदी अरेबिया पाँचौ पटक विश्वकपमा छनोट भए। एसियाबाट साउदी २००६ पछि पहिलो पटक छनोट भयो।
उत्तर, मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रबाट मेक्सिको र कोस्टारिकाले विश्कपमा स्थान पक्का गरेका छन्। मेक्सिको १६ औं तथा कोस्टारिकाले पाँचौ पटक विश्वकपमा स्थान बनाएका हुन्।
दक्षिण अमेरिकाबाट छनोट भएको पाँच पटकको विश्व विजेता ब्राजिल सबै विश्वकपमा छनोट हुने एकमात्र टिम हो। ब्राजिलले दक्षिण अमेरिका छनोट सहज रुपमा पार गरेको थियो।
अफ्रिकाबाट नाइजेरिया र इजिप्टले विश्वकपमा स्थान बनाएका छन्। नाइजेरियाले छैटौं पटक विश्वकप खेल्न लागेको हो। इजिप्ट तेस्रो पटक विश्वकपमा छनोट भयो। पछिल्लो पटक इजिप्टले सन् १९९० को विश्वकप खेलेको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।