नमोबुद्ध– काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को योजना तर्जुमा गर्न बाल भेलाको आयोजना गर्यो। ‘बालमैत्री नगर घोषणा’को तयारीमा जुटेको नगरले बालबालिकाकै अर्थपूर्ण सहभागितामा योजना तर्जुमा गर्न विद्यालयका बालबालिकालाई भेला गरेको थियो।
कार्यक्रममा ११ माध्यमिक विद्यालय र चार आधारभूत विद्यालयका बाल क्लवका पदाधिकारी र प्रतिनिधिको सहभागिता थियो। भेलामा सहभागी बालबालिकाले विभिन्न भेलामा छलफल गरेर बालमैत्री योजना, बजेट, कार्यक्रम तथा संरचनाका बारेमा छलफल गरी उपयुक्त योजना प्रस्ताव गरेका छन्।
नगर प्रमुख कुन्साङ लामाले नेतृत्व र व्यक्तित्व विकास गर्दै बालबालिकालाई मुलुकाको नेतृत्व गर्नसक्ने क्षमता बनाउनुपर्ने बताए। उनले बालमैत्री अभियानबारे घर, परिवार, टोल, छिमेक, विद्यालय र समुदायमा सचेत गराउन बालबालिकालाई अनुरोध गर्दै अभियान सफल बनाउन नगराले उपयुक्त कार्यक्रमसहित बजेट विनियोजन गर्नेसमेत बताए।
नगर उपप्रमुख रत्नबहादुर लामाले बालमैत्री नगर बनाउन नमोबुद्धले जमर्को गरेकोले बालबालिकाका योजना आगामी बजेटमा समेटिने प्रतिबद्धता जनाए। उनले समुदायस्तरमा पनि बालसमूह गठन गर्नुपर्नेमा जोड दिँदै विभिन्न खाले प्रशिक्षण पनि सञ्चालन गर्नुपर्ने बताए।
नगर प्रवक्तासमेत रहेका वडा नम्बर ६ का वडाध्यक्ष टीकाबहादुर केसीले बजेट विनियोजनको लागि आफूहरु प्रतिबद्ध रहेको बताए। बाल अधिकारको क्षेत्रमा कार्यरत, सुनवल बाल क्लव सञ्जालका पूर्वअध्यक्ष कृष्ण घिमिरेले बालमैत्री नगर घोषणाको लागि नमोबुद्धका जनप्रतिनिधिले देखाएको तदारुकता प्रशंसनीय भएको उल्लेख गरे।
बालमैत्री नगर अभियानअन्तर्गत विभिन्न गतिविधीलाई तीव्रता दिएको नगरले जनाएको छ। यस्तै सबै विद्यालयमा बालमैत्री सम्पर्क शिक्षक तोकिएको र ११ वटा वडामा बालमैत्री वडा समिति र बाल अधिकार वडा समिति पुनर्गठन भइसकेका छन्।
नगरपालिकाले हालै ४० सामुदायिक विद्यालय र छ संस्थागत विद्यालयमा बालमैत्री सूचकको अनुगमनसमेत गरेको छ। यसैगरी बालमैत्री नगरका लागि सामुदायिक विद्यालय, जनप्रतिनिधि, बालमैत्री शिक्षक, बाल क्लब सञ्जाल, नगरका कर्मचारी तथा वडासचिवलाई अभिमुखीकरण गरिसकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।