काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित तीन जनाको बयान बिहीबार सकिएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा पूर्वउपप्रधानमन्त्री रायमाझी, आङटावा शेर्पा र समशेर मियाँले बयान लिइएको हो। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकामध्ये अब तीन जनाले मात्रै बयान दिन बाँकी रहेको जनाइएको छ।
पूर्वगृहमन्त्री बालकृष्ण खाण, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र बिहीबार काठमाडौं जिल्ला अदालतमा हाजिर भएका हरिभक्त महर्जनको बयान लिन बाँकी रहेको छ। उनीहरुको बयान शुक्रबार लिइने भएको छ। नक्कली शरणार्थी प्रकरणमा प्रतिवादीको बयान यही जेठ १२ गतेदेखि काठमाडौँ जिल्ला अदालतमा लिन थालिएको हो।
उक्त प्रकरणका आरोपितमध्ये आजसम्म १५ प्रतिवादीले बयान दिइसकेका छन्। उक्त प्रकरणका आरोपितमध्ये १७ पक्राउ परेका छन् भने १३ अझै फरार रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।