काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट भारतले आउँदो १० वर्षमा १० हजार मेगावाट बिजुली आयात गर्ने प्रतिवद्धता जनाएका छन्। हैदरावाद हाउसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतका प्रतिनिधिसँग भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले उक्त घोषणा गरेका हुन्। मोदीले नेपालसँग सात वटा सम्झौतासहित ऊर्जा क्षेत्रमा ठूलो सम्झौता गरेको बताए।
नेपालले भारतसँग तल्लो अरुण र फुकोट कर्णालीको सम्झौता गरेपछि उनले खुसी व्यक्त गरेका हुन्। त्यस्तै उनले संयुक्त पत्रकार सम्मेलनमा धार्मिक रुपमा नेपाल-भारत सँगै रहेको भन्दै रामायण सर्किटको योजना अघि बढ्ने पनि बताए।
‘मलाई खुसी छ, नौ वर्षपछि हामीले यी सम्झौता गरेका छौं। हामीले यो अवधिमा धेरै सफलता हासिल गरेका छौं,’ उनले भने, ‘हामीले पेट्राोलियम पाइप लाइन बनाएका छौं। रेल बनाएका छौं। नेपालबाट अहिले ४५० मेगावाटभन्दा धेरै बिजुली आयात गरेका छौं। आगामी दिनमा यो अझै वृद्धि भएर जानेछ। नेपाल-भारत सम्बन्धको कुरा गर्ने हो भने आज दिनभर जान्छ।’
उनले पछिल्लो वर्ष भारतले पावर क्षेत्रमा सहयोगका लागि एक ल्याडमार्क डकुमेन्ट अघि सारेको र नेपाल-भारतका बीचमा सहमति हुँदा खुसी लागेको बताए।
‘आज नेपाल र भारतका बीचमा दीर्घकालीन सहमति भएको छ। आउने १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली आयात गर्ने लक्ष्य राखेका छौं,’ मोदीले भने, ‘फुकोट अरुण र तल्लो अरुणमा भएको सम्झौताले हामीलाई धेरै सहयोग पुग्नेछ।’
उनले बिहीबार भएको ट्रान्जिट एग्रिमेन्ट, रेल्वे, कनेक्टिभिटी सुविधाहरुले धेरै सहयोग हुने बताए। उनले नेपाल र भारतका बीचमा हुने विद्युतीय भुक्तानी सम्बन्धी सम्झौताले भारतमा अध्ययन गरिरहेका नेपाली विद्यार्थी, उपचारका लागि आएका व्यक्ति, धार्मिक भ्रमणमा रहेका व्यक्तिहरुले फाइदा उठाउने बताए।
रेल्वे सम्झौतामा धेरै सुविधाहरु नेपालले पाउने भन्दै भारतीय रेल विभागले नेपालका कर्मचारीहरुलाई प्रशिक्षण दिने मोदीले घोषणा गरे। सुदूरपश्चिमलाई जोड्न सिर्सा लगायतका क्षेत्रमा पुल बनाइने मोदीले बताए।
‘मलाई याद छ, ९ वर्ष पहिले सन् २०१४ मा कार्यभार सम्हालेको ३ महिनामा नेपालको यात्रा गरेको थिएँ। मैले यो समयमा एक फर्मुला दिएको थिएँ,’ उनले भने, ‘हाइवेज, सूचना राजमार्ग र ट्रान्समिसनको कुरा गरेको थिएँ।’
उनले आफूले नेपाल र भारतका बीचमा कुनै बोर्डरको सीमा नहोस् भन्ने चाहेको र नदीहरुका साझा पुल बनोस्, पाइप लाइन बनोस् भन्ने चाहेको र अहिले सम्झौता पनि भएको बताए। उनले पेट्रोलियम पाइप लाइन चितवनसम्म लैजाने र सिलगुडीबाट झापासम्म पाइप लाइन बनाउने र नयाँ भण्डारण पनि बनाउने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।