काठमाडौं- रुकुममा २०७७ साल जेठ १० गते अन्तरजातीय प्रेम सम्बन्धलाई आधार बनाई नवराज विकलगायत ६ जना युवाको नृशंस हत्या भएको घटनाको सम्झना गर्दै जातव्यवस्थाविरुद्धको प्रतिरोध दिवस मनाइएको छ।
रुकुम नरसंहारमा ज्यान गुमाउने युवाहरु र उनीहरुको परिवारको न्यायको पक्षमा तथा जातव्यवस्था अन्त्यका पक्षमा निरन्तर संघर्ष गर्ने प्रणसहित प्रतिरोध जनअधिकार आन्दोलन, पुष्पलाल ज्ञानशाला काठमाडौं र सुसेला संगीत समूहको आयोजनामा बुधबार (आज) दिउँसो २ बजेदेखि ४ बजेसम्म काठमाडौं माइतीघरमा जात व्यवस्थाविरुद्धको प्रतिरोध दिवस सम्पन्न भएको हो।
प्रतिरोध दिवसमा कविहरु स्वप्निल स्मृति, अस्मिता केसी, समर्पण श्री र देव व्रतले कविता वाचन गरे भने सुसेलाले दुई वटा जात व्यवस्थाविरोधी गीतहरु प्रस्तुत गर्यो।
सभामा रुकुम हत्याकाण्ड लगत्तै जनस्तरबाट गठित स्वतन्त्र अध्ययन टोलीको सदस्य रहिसकेका दलित मुक्ति आन्दोलनका नेता तथा नेपाल दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य राम नेपाली र लेखक तथा नागरिक अगुवा खगेन्द्र संग्रौलाले मन्तव्य राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।