काठमाडौं– नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) बेलायत शाखाले राष्ट्रिय आविष्कार केन्द्रलाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ।
नेफिन युकेले मंगलबार नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) संघीय समितिमार्फत् केन्द्रका संस्थापक महावीर पुनलाई उक्त रकम हस्तान्तरण गरेको हो।
नेफिनको संघीय कार्यालय काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी रकम हस्तान्तरण गरिएको हो। त्यस अवसरमा रकम हस्तान्तरण गर्दै नेफिन युकेका सल्लाहकार भक्तबहादुर दुराले महावीर पुनको आविष्कार केन्द्रले सुरु गरेको अभियानलाई सहयोग गर्न सानो रकम हस्तान्तरण गरिएको बताए।
केन्द्रले मुलुकभित्रै महत्वपूर्ण अभियान सञ्चालन गरेको भन्दै उनले यो अभियानमा सहभागी हुनसमेत अपिलसमेत गरे। त्यस अवसरमा उक्त रकम ग्रहण गर्दै राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महाबिर पुनले केन्द्रले सञ्चालन गरिरहेको अभियानका विषयमा आम जनमानसलाई बुझाउन आवश्यक रहेको बताए। अभियानबारे अझै पनि धेरैले नबुझेको भन्दै उनले अभियानको वास्तविकता धेरैले नबुझेको समेत बताए।
‘राष्ट्रिय आविष्कार केन्द्रले सञ्चालन गरिरहेको यो अभियानको उद्देश्यका बारेमा बुझाउन आवश्यक छ। अभियानमा धेरैले हामीलाई हौसला सहयोग गर्नुभएको छ’, उनले भने, ‘केहीले यस विषयमा नबुझेर नै टिकाटीप्पणी पनि गरिरहनुभएको छ। यो अभियान २/४ वर्षको प्रोजेक्ट होइन। यसको क्षेत्र बृहत् छ। यसको समय अनन्त कालसम्मको छ। यसको वास्तविकता बुझाउन आवश्यक छ।’
यसैगरी सो अवसरमा महासंघका संघीय अध्यक्ष गेल्जे लामा शेर्पाले केन्द्रले सञ्चालन गरेको अभियान महत्वपूर्ण भएको भन्दै उक्त अभियानमा सबै कुनै न कुनै रुपले सहभागी हुनुपर्ने बताए।
आफ्नै प्रयासमा आफ्नै देशभित्र महाबिर पुनले सुरु गरेको अभियान महत्वपूर्ण रहेको भन्दै अध्यक्ष शेर्पाले उनको उद्देश्य पूरा गराउन महासंघको पूर्ण साथ, समर्थन र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
राष्ट्रिय आविष्कार केन्द्र र सरकारबीच भएको सहमति पालना हुनेमा विश्वास व्यक्त गर्दै उनले उक्त सम्झौता कार्यान्वयन नभए महासंघलाई जानकारी गराउनसमेत आग्रह गरे।
त्यस अवसरमा नेफिनका महासचिव दिवश राईले केन्द्रले सुरु गरेको अभियानलाई सहयोग गरेकोमा नेफिन युके शाखालाई धन्यवाद ज्ञापन गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।