काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व सांसद आङटावा शेर्पाले विचौलियाहरु केशवप्रसाद दुलालसँग पुरानै चिनजान भएको दाबी गरेका छन्।
प्रहरीसँगको बयानका क्रममा उनले दुलालसँगको सम्बन्ध स्वीकार गरेको बयान दिएका छन्। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंको अध्ययनमा रहेको अनुसन्धान प्रतिवेदनअनुसार उनले रकम लिएको अडियो भने आफ्नै भएको दाबी गरेका छन्।
‘मिसिलमा संलग्न अडियोमा भएको आवाज मेरो आफ्नै हो, सो अडियोमा भएको कुराकानी मैले मेरो आफ्नो व्यक्तिगत प्रयोजनको लागि लिएको रकमको सम्बन्धमा कुराकानी गरेको हो,’ उनले भनेका छन्, ‘अमेरिका पठाइदिने भनी रकम लिई सो विषयमा कुराकानी गरेको होइन, आफ्नो व्यक्तिगत आर्थिक कारोबारको विषयमा मात्र कुरा गरेको हुँ।’
उनले आफू मोरङ पथरी शनिश्चरे नगरपालिका वडा न. १० को पूर्व वडाध्यक्ष भएको र भुटानी शरणार्थीको शिविरसमेत आफ्नै वडामा रहेको करण सो विषयमा केही चासो लिएको बताएका छन्। ‘चासो बाहेक मैले कोही कसैलाई भुटानी शरणार्थीको कागज पत्र बनाई सोही कागज पत्रको आधारमा अमेरिका लगिदिने भनी कोही कसैसँग कुराकानीसमेत गरेको छैन,’ उनले भनेका छन्, ‘जाहेरीमा नाम उल्लेख भएका ६१ जना व्यक्तिहरुलाई मैले चिनेको छैन।’
यस्तो छ आङटावा शेर्पाको बयान
प्रतिवादीहरु मध्ये केशवप्रसाद दुलाललाई निज सुजाता कोईरालाको निजी सचिव हुँदा चिनेको, सानु भण्डारी जग्गाको र हाईड्रोपावरको काम गर्ने भएको हुनाले निजलाई १६÷१७ महिना अघि चिनेको हो। नरेन्द्र के.सी. लाई बालकृष्ण खाँणको रु.१,२१,०००÷–(एक लाख एक्काईस हजार) लिएको हो। निजबाट लिएको उक्त रकम मैले नगदै निजलाई फिर्ता गरी सकें । निजले जाहेरीमा के–कसरी मैले उक्त रकम लिएको भनी खुलाई लेखाएका हुन मलाई जानकारी भएन।
मैले आशिष बुढाथोकी र मोहन राईलाई चिनेको छैन। मिसल संलग्न अडियोमा भएको आवाज मेरो आफ्नै हो, सो अडियोमा भएको कुराकानी मैले मेरो आफ्नो व्यक्तिगत प्रयोजनको लागी लिएको रकमको सम्बन्धमा कुराकानी गरेको हो, अमेरिका पठाई दिने भनी रकम लिई सो विषयमा कुराकानी गरेको होईन, आफ्नो व्यक्तिगत आर्थिक कारोवारको विषयमा मात्र कुरा गरेको हुँ।
म आफू जिल्ला मोरङ पथरी शनिश्चरे नगरपालिका वडा न. १० को पुर्व वडा अध्यक्ष भएको र भुटानी शरणार्थीको शिविर समेत मेरै वडामा रहेको करण मैले सो विषयमा केही चासो लिएको हो, सोबाहेक मैले कोही कसैलाई भुटानी शरणार्थीको कागज पत्र बनाई सोही कागज पत्रको आधारमा अमेरिका लगी दिने भनी कोही कसैसँग कुराकानी समेत नगरेको, मेरो उच्च पदस्थ राजनैतिक व्यक्ति तथा कर्मचारीहरुसँग सम्पर्क समेत नभएको हुँदा पत्रिकामा प्रकाशित समाचार झुठ्ठा हो, पत्रिकामा प्रकाशित समाचार जस्तो मैले कुनै कार्य गरेको छैन।
मेरो आफ्नै वडामा शरणार्थी शिविर बसेको हुँदा सो सम्बन्धी समाचारहरु प्रकाशित भएको कारण मैले मेरो मोबाइलमा स्क्रिन सर्ट गरी राखेकोले सोही समाचारहरु प्रिन्ट गरी पेस गरेको हुँ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।