काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूमाथि अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले फेरि तीन दिनको म्याद दिएको छ।
आइतबार जिल्ला अदालतले शनिबारदेखि लागू हुने गरि तीन दिन म्याद दिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि नेउपानले बताए।
उनले सोमबार प्रहरीले फाइल बुझाउने भनेको र अवको २ दिनभित्र मुद्दा दायर गर्नुपर्ने बताए। प्रहरीले अनुसन्धानको फाइल नबुझाउँदा उनीहरुमाथि लगाउने अभियोगबारे सरकारी वकिलको कार्यालयले निर्णय लिन पाएको छैन।
प्रहरीले गरेको अनुसन्धान प्रतिवेदन हेरेपछि अभियोगबारे निर्णय गर्ने उनले बताए। हालसम्म हेर्दा ठगी, संगठित अपराध, कीर्ते र राज्यविरुद्धको अभियोग लाग्न सक्ने देखिएको छ।
जिल्लाले अन्तिम पटक भन्दै तीन दिन म्याद थप गरेकाले सोमबारसम्म मुद्दा बुझेर मंगलबार अभियोगपत्र अदालत पेस गर्नुपर्ने बाध्यतामा सरकारी वकिलको कार्यालय रहेको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, बहालवाला सचिव टेकनारायाण पाण्डे, इन्द्रजित राईसहितका व्यक्तिहरू प्रहरी हिरासतमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।