काठमाडौं– नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको ठगी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणको मोबाइलको रिपोर्ट आएको छ।
खाणको साथबाट बरामद भएको मोबाइल जाँचका लागि प्रहरीले डीजीटल फरेन्सीक ल्याब (डीएफएल)मा पठाएको थियो। डीएफएलले रिपोर्ट पठाएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
भुटानी शरणार्थी प्रकरण बारेको कुनै कुराकानी तथा प्रमाणहरु नभेटिएको भन्ने रिपोर्ट आएको परिसरका एसएसपी दानबहादुर कार्कीले बताए।
‘उहाँको मोबाइल फ्याक्ट्री रिसेट भएको थियो। त्यसपछि हामीले जाँचका लागि डीएफएलमा पठाएका थियौं। तर रिपोर्टमा केही पनि आएन’ एसएसपी कार्कीले भने।
वैशाख २७ गते खाणलाई चाबहिलको मैजुवहालस्थित आफ्नै निवासबाट प्रहरीले पक्राउ गरेको थियो। खाणलाई पक्राउ गरेपछि प्रहरीले मोबाइल नियन्त्रणमा लिएको थियो। उक्त मोबाइलमा भुटानी शरणार्थी प्रकरणको गतिविधि नदेखिएपछि डिलेट तथा फर्म्याट गरेको हुनसक्ने भन्दै प्रहरीले जाँचका लागि पठाएको थियो।
जाँच भएर आउँदा पनि केही नदेखिएपछि खाणले प्रमाण लुकाउन मोबाइल नै परिवर्तन गरेको हुनसक्ने प्रहरीले जनाएको छ। ‘डीएफएलबाट केही पनि नआएपछि उहाँले मोबाइल नै परिवर्तन गरेको हुनसक्ने हाम्रो विश्लेषण हो,’ परिसर स्रोतले भन्यो, ‘मोबाइल परिवर्तन नभएको भए डीएफएल रिपोर्टबाट केही प्रमाणहरु आउँथे।’
यता खाणले भने आफूले मोबाइल नै परिवर्तन नगरेको दाबी गरेका छन्। आफू मन्त्री छँदा जुन मोबाइल बोकेको हो अहिले पनि त्यही मोबाइल बोकेको खाणले दाबी गरेको प्रहरी अधिकारीले बताए।
मोबाइलको फ्याक्ट्री रिसेट भएको पाइएपछि जिल्ला सरकारी वकिल कार्यालयमा बयानको क्रममा यसबारेसमेत सरकारी वकिलले खाणलाई प्रश्न गरेका थिए। तर खाणले ‘आफू पूरानो पुस्ताको मान्छे हुँ। मोबाइलको प्राविधिक पक्षबारे जानकारी छैन। मेरो मोबाइल त्यही। जे छ त्यही छ’ भनेका बताइएकाे छ।
खाणलाई नक्कली भुटानी शरणार्थी प्रकरणका विचौलिया केशव दुलाल र उनी गृहमन्त्री हुँदाका सचिव टेकनारायण पाण्डेले बयानका क्रममा नाम लिएको आधारमा पक्राउ गरेको थियो। यसअघि पाण्डेको मोबाइलमा खाणको म्यासेज भेटिएको थियो। उनले आफ्ना सहयोगी नरेन्द्र केसीलाई पनि पाँच लाख रुपैयाँ दिनु भनेर म्यासेज पठाएको भेटिएको प्रहरीले जनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।