काठमाडौं– प्रतिनिधि सभामा आज (आइतबार)देखि नीति तथा कार्यक्रममाथि छलफल हुँदैछ। प्रतिनिधि सभाको बैठक आइतबार बिहान ११ बजे बस्दैछ।
सरकारले आगामी आर्थिक २०८०/०८१ का लागि ल्याएको वार्षिक नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडैलले शुक्रबार संघीय संसद् संयुक्तको बैठकमा प्रस्तुत गरेका थिए।
राष्ट्रपतिले गरेको सम्बोधनमा उल्लेखित नीति तथा कार्यक्रममाथि विचार गरियोस् भनेर आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ।
यस्तै, आइतबारको बैठकमा नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभा सदस्यहरुबाट प्राप्त संशोधनहरु प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिने सम्भावित कार्यसूची छ।
एमालेले पारित हुन नदिने
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने सरकारको नीति तथा कार्यक्रम पारित हुने नदिने बताएको छ। एमाले अध्यक्ष एवं पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम संसद्बाट पारित हुन नदिने बताएका हुन्।
शनिबार संघीय संसद भवन नयाँबानेश्वरमा आयोजित पार्टीको संसदीय दल बैठकमा बोल्दै उनले सरकारले देशलाई निर्देश गर्ने खालको नीति तथा कार्यक्रम नल्याएकाले त्यसलाई स्वीकार गर्न, समर्थन गर्न नसकिने अडान राखे।
सरकारले देशलाई निर्देश गर्न नसक्ने खालको नीति तथा कार्यक्रम ल्याउनु दुःखद् भएको भन्दै ओलीले त्यसलाई संसद्बाट पारित गर्न नहुने पार्टीको अडान रहेको पनि स्पष्ट पारे।
‘यो एउटा बेकारको पुलिन्दा हो। जसले यस देशलाई निर्देशित गर्न सक्दैन। नीतिगत हिसावले निर्देशित गर्न सक्दैन। यसले कुनै डेष्टिनेशननै तोकेन। यसले नीतिगत रुपमा कुनै मार्ग निर्देश गर्दैन। स्वीकार योग्य छैन, समर्थन योग्य छैन। विरोध योग्य छ। यसर्थ, यसलाई पास गर्न मिल्दैन, हुँदैन। यसको विरोध गर्नुपर्छ। हाम्रो मुख्य पोजिशन त्यही हो,’ ओलीको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।