काठमाडौं– अनधिकृत रुपमा वैदेशिक रोजगारसमन्धी कार्यक्रम सञ्चालन गर्ने विदेशी नागरिकलाई नियन्त्रणमा लिइएको छ।
शनिबार मध्यान्ह साढे १२ बजेतिर काठमाडौं महानगरपालिका–१ नक्साल स्थित मेरियट होटलमा ‘फर्स्ट इमिग्रेशन एण्ड रिक्वायरमेन्ट सेमिनार इन नेपाल’ नामक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको र त्यसका लागि कतैबाट पनि अनुमति नलिएकाले दुई जना विदेशी नागरिकलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा मेरियट होटलमा बस्दै आएकी बेलारुसकी ३० वर्षीया रेटा फियाडोसिक र ३७ वर्षीय ओलेग फिडोसिक रहेका छन्।
उनीहरुले टिकटकमार्फत् विज्ञापन गरी पोल्याण्ड रोजगारी बारेमा सेमिनार गर्ने भन्दै मेरियट होटलको हल बूक गरी जेठ ६ र ७ गते ठूलो संख्याका लागि पाँच हजार नेपालीहरु भेला गर्ने भन्दै सम्पूर्ण तयारी पूरा गरेको पाइएको छ।
तर उक्त कार्यक्रमबारे नेपालस्थित कुनै पनि सरकारी निकायलाई जानकारी नगराइएको हुँदा वैदेशिक रोजगार विभागसँग समन्वय गरी नियन्त्रणमा लिइएको हो। उनीहरुलाई प्रहरी वृत्त मालीगाँउमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।