रसुवा– रसुवा जिल्लाको उच्च भागमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा आज (शनिबार)देखि विशेष मेला सुरू भएको छ।
गङ्गा दशहरा पर्वअन्तर्गत आरम्भ भएको १० दिने विशेष मेला भर्नका लागि टाढा टाढाबाट आएका भक्तजनले शनिबार बिहानैदेखि कुण्डमा स्नान तथा भगवान् शिवको पूजा आरधना गर्न थालेका छन्। शिवको दर्शन गर्नाले आफ्ना मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। गोसाइँकुण्ड मेलाको पहिलो दिन आज तीर्थ पुग्ने भक्तजनले दिनभरिनै कुण्डमा स्नान तथा विशेष पूजा गर्ने गर्दछन्।
समुद्र मन्थन गर्दा निस्केको कालकुट विष सेवनका कारण भएको छटपटी र डाहा शान्त पार्न जलको खोजी गर्दै भगवान् शिव निलाद्रि पर्वत पुगेको धार्मिक मान्यता रहेको छ। त्रिशूल प्रहारबाट निलाद्री पर्वतमा जल उत्पन्न गराइ पानीको प्यास मेटी त्यही जलले बनेको पोखरीमा शिव विराजमान रहेको जनविश्वास छ।
निलाद्री पर्वत अर्थात् गोसाइँकुण्ड तीर्थ समुद्री सतहबाट ४ हजार ३८० मिटरको उचाइमा अवस्थित रहेको छ। पवित्र कुण्डमा स्नान गर्दा शारीरिक रोगव्याधसमेत हट्ने मान्यता रहिआएको छ। कालकुट विषपान गरी प्राणी बचाउने शिवको दर्शनका लागि जिन्दगीमा एक पटक गोसाइँकुण्ड पुग्नै पर्ने मान्यता रहिआएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।