काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले रिजालको पनि संलग्नता खुलेपछि पक्राउ गरेको हो।
अनुसन्धान अन्तिमतिर पुग्न लाग्दा नेता रिजाललाई पक्राउ गरिएको परिसरले जनाएको छ।
रिजाललाई पक्राउ गरिएको परिसरका एसएसपी दानबहादुर कार्कीले नेपाल लाइभलाई जानकारी दिए।
को हुन् टेकनाथ रिजाल?
७५ वर्षीय रिजाल भुटानी शरणार्थीहरुमध्ये संसारभरि चिनिएका एक मानव अधिकारवादी नेता हुन्। भुटानको शाही सल्लाहकार सभाका सदस्य रहेका उनी नेपाली भाषी भुटानीहरु माथि दमन गरिएको भन्ने रिपोर्ट राजालाई दिए पछि तत्कालिन सरकारको कोपभाजनमा परेका थिए।
त्यसपछि भुटानबाट भागेर नेपाल आएको बेला पञ्चायती शासनकालमा नेपाल प्रहरीले पक्राउ गरी भुटान सरकारलाई बुझाएपछि उनलाइ कठोर यातनासहित सन् १९८९ देखि सन् १९९९ सम्म भुटानकै चामगाङ जेलमा बन्दी बनाइएको थियो।
एमनेस्टी इन्टरनेशनलले ‘आस्थाको बन्दी’ घोषणा गरेर रिजालको रिहाइका लागि अभियान चलाएपछि सन् १९९९ मा भुटानी राजाले उनलाई आम माफी दिएर रिहा गरिदिएका थिए।
त्यसयता नेपालमै बसोबास गरिरहेका रिजालले भुटानी शरणार्थीहरुको हकहितका लागि आवाज उठाउँदै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।