काठमाडौं- नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरिएको प्रकरणमा पक्राउ परेका नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीदेखि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासम्मले रुचाएका व्यक्ति रहेको पाइएको छ।
उनै मियाँलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको छ। मियाँलाई पक्राउ गरिएको परिसरका प्रमुख तथा एसएसपी दानबहादुर कार्कीले पुष्टि गरे।
जिम्मेवारीका हिसाबले मियाँको भुटानी शरणार्थी प्रकरणमा कुनै साइनो नहुनु पर्ने हो। तर प्रहरीले उनको संलग्नता देखिएको भन्दै पक्राउ गरेको छ।
हाल पक्राउ परेका मियाँलाई ओली सरकारको पालामा पहिलो पटक २०७५ पुस २९ मा मन्त्रिपरिषदले हज समितिको अध्यक्षमा नियुक्ति गरेको थियो। गृह मन्त्रालय मातहत रहने हज समितिमा मियाँको यो पहिलो इन्ट्री थियो। त्यतिबेला गृहमन्त्री भने एमाले उपाध्यक्ष रामबहादुर थापा बादल थिए। हज समितिको कार्यालय समेत गृह मन्त्रालयमै रहन्छ।
सरकारी गाडी चढेर लेनदेन
मियाँ अध्यक्ष भएपछि त्यतिबेला उनले चढ्ने गाडी नक्कली भुटानी शरणार्थी प्रकरणका गिरोहले चढ्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो। सरकारी गाडी चढेर लेनदेनको काराबोर गर्दा सुरक्षित हुने भन्दै मियाँको गाडी गिरोहहरुले प्रयोग गर्ने गरेको प्रहरीको भनाइ छ।
नेपाल हज समिति कार्यविधि २०७२ को दफा ३ को उपदफा २ (क) अनुसार हज समितिको अध्यक्षको पदावधि २ वर्षको हुनेछ। पदावधि सकिएपछि पुनः मियाँको दोस्रो कार्यकाल २०७७ माघ ७ गते थपियो। त्यतिबेला पनि ओली नेतृत्वकै सरकार थियो।
२०७८ वैशाख असार २९ गते देउवा प्रधानमन्त्रीमा नियुक्त भए। राजनीतिक नियुक्ति हुने हज समितिको अध्यक्षमा देउवा सरकारले पनि मियाँलाई रुचायो। र, उनलाई निरन्तरता दियो।
सरकार परिवर्तनसँगै प्राय:जसो राजनीतिक नियुक्तिका पदमा बसेकाहरुलाई हटाएर आफू निकटका व्यक्तिलाई नियुक्त गरिए पनि मियाँको हकमा भने त्यो लागू भएन। देउवा सरकारले पनि मियाँलाई निरन्तरता दियो।
त्यतिबेला गृहमन्त्री भने बालकृष्ण खाण थिए। उनकै मातहतमा रहेर मियाँले काम गरेका थिए। अहिले खाणसँगै मियाँ पनि हिरासत पुगेका छन्।
उनै मियाँ भुटानी शरणार्थी बनाएर ठगी गर्ने गिरोहका सहयोगी बनेर निस्किए। गिरोहलाई गाडी उपलब्ध गराउनेदेखि अन्य सहयोगी भूमिकामा बसेर काम गरेको प्रहरीको दाबी छ। गिरोहका सहयोगी बनेर काम गरेको पाइएपछि मियाँलाई देशको मुख्य प्रशासनिक निकाय सिंहदरबार भित्रबाटै पक्राउ गरिएको छ। सिंहदरबार भित्रको उनकै कार्यकक्षबाट पक्राउ गरिएको छ।
मियाँले चढ्ने सरकारी गाडी नै प्रयोग गरेर गिरोहले पैसाको डिल गर्ने गरेको पाइएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। उक्त गाडी अहिले प्रहरीले बरामद गरेर परिसर टेकुमा राखेको छ।
मिया अर्घाखाँचीका हुन्। अर्घाखाँचीकै सांसद तथा एमालेका सचिव टोपबहादुरसँग मियाँको राम्रो सम्बन्ध रहेको बताइन्छ। हिरासतमा रहेका टोपबहादुरसँगै नेपाल सरकारका सचिव टेकनारायण पाण्डेसँग पनि मियाँ निकटस्थ छन्। पाण्डेको घर पनि अर्घाखाँची नै हो।
ओलीले नियुक्त गरे पनि देउवा सरकारको पालामा गृहसचिव बनेका पाण्डेसँग आफ्नो गृहजिल्लाको साइनो जोड्दै मियाँले आफ्नो नियुक्तिलाई निरन्तरता दिइएको बताइन्छ। भुटानी शरणार्थी प्रकरणमा टोपबहादुरसँग मिलेर काम गरेजस्तै टेकनारायणसँग पनि त्यसैगरी मियाँले काम गरेको दाबी प्रहरीले गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।